काठमाण्डु– आगामी हिउँदयाममा विद्युत् अभाव भएर फेरि लोडसेडिङ गर्नुपर्ने हो कि भन्ने आशङ्का हटेको छ ।
नेपाल विद्युत् प्राधिकरणले हिउँदको माग व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएसँगै आपूर्ति व्यवस्था सहज हुने भएको हो ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई आगामी साउन १५ सम्म भारतीय ऊर्जा विनिमय बजारबाट विद्युत् खरिद गर्न स्वीकृति दिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार इनर्जी एक्स्चेन्ज मार्केट (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न प्राधिकरणलाई अनुमति प्राप्त भएको श्रेष्ठले बताए ।
यो अनुमतिअनुसार प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म भारतीय बजारबाट विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत आयात गर्न सकिनेछ ।
अनुमतिअनुसार, कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने विश्वास श्रेष्ठको छ ।
आयातका लागि चारवटा प्रसारण लाइन तोकिएका छन् । कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् ल्याउन सकिनेछ ।
प्राधिकरणका अनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनले विद्युत् माग धान्न कठिन हुने अनुमान छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ ।
विद्युत्को उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आवश्यक पर्न सक्ने आकलन गरिएको छ ।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट बाहिरिएका छन् ।
यस्तो अवस्थामा हिउँदको विद्युत् व्यवस्थापनका लागि भारतबाट आयातको अनुमति प्राप्त हुनु महत्त्वपूर्ण भएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले हिउँदयामको माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताएका छन् ।
वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्न थालेपछि जलविद्युत् उत्पादनमा वृद्धि हुने र भारतबाट आयात गर्नुपर्ने अवस्था क्रमशः अन्त्य हुने प्राधिकरणको अनुमान छ । त्यसपछि नेपालले पुनः भारतमा विद्युत् बिक्री गर्न सक्नेछ ।
५६ मेगावाट भारत निर्यातको अनुमति
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार नेपालले हिउँदमा विद्युत् आयात गर्ने अनुमति पाएकोसँगै भारतमा ५६ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृति प्राप्त गरेको छ ।
तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न प्राधिकरणले अनुमति पाएको हो । उक्त विद्युत् पनि मङ्सिर १ देखि आगामी साउन १५ सम्म निर्यात गर्न सकिनेछ ।
यसले हिउँदमा भारतबाट विद्युत् ल्याएर आन्तरिक माग व्यवस्थापन गर्ने र उत्पादन बढ्ने समयमा भारतमा बिक्री गर्ने नेपालको विद्युत् व्यापारलाई निरन्तरता दिनेछ ।


प्रतिक्रिया