काठमाण्डु- काठमाण्डु–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार ब्रेकथ्रु हुने भएको छ।
तीन हजार ४२२ मिटर लामो सुरुङ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्ने तयारी नेपाली सेनाले गरेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बुधबार महादेवटार सुरुङको दायाँ ट्युब ब्रेकथ्रु हुने बताएका छन्।
यसअघि ३ हजार ४८६ मिटर लामो बायाँ ट्युबको ब्रेकथ्रु भइसकेको छ। दायाँ ट्युब पनि छिचोलिएपछि आयोजनाको सबैभन्दा लामो सुरुङ खन्ने काम पूरा हुनेछ।
उक्त ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई लग्ने तयारी नेपाली सेनाले गरेको छ। प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेल बुधबार महादेवटार सुरूङ ब्रेकथ्रु समारोहमा सहभागी हुने जानकारी काठमाण्डुपाटीलाई दिएका छन्।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ७०.९७७ किलोमिटर लामो फास्ट ट्र्याकको भौतिक प्रगति ५० प्रतिशत नजिक छ।
आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाको भौतिक प्रगति ४८.७२ प्रतिशत र वित्तीय प्रगति ५०.६३ प्रतिशत पुगिसकेको छ। हालसम्म ९२ अर्ब ६८ करोड रुपैयाँ खर्च भइसकेको छ।
सरकारले यस बहुप्रतिक्षित आयोजनाको निर्माणअवधि फेरि एक पटक तीन वर्ष थपेर २०८६ चैतसम्मलाई तोकेको छ।
यस आयोजनाका लागि सरकारद्वारा संशोधित लागत अब २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ भएको छ।
तराईसँग काठमाण्डु उपत्यकालाई जोड्ने यस आयोजनामा लामा लामा सुरुङ र अग्ला अग्ला पुल निर्माणमा ढिलाइ हुँदा अवधि पनि लम्बिएको छ। अर्कातिर ललितपुरको खोकना क्षेत्रको जग्गा अधिग्रहण विवाद लामो समय सुल्झिएन ।
सात सुरुङ र ८९ पुल निर्माणाधीन
फास्ट ट्र्याकमा सातवटा सुरुङको जम्मा लम्बाइ करिब १०.९७९ किलोमिटर रहेको नेपाली सेनाले जनाएको छ। महादेवटारका दुवै ट्युब छिचोलिनुलाई ठूलो उपलब्धि मानिएको छ।
अब चन्द्राम भिर सुरुङ छिचोल्न बाँकी छ । फास्ट ट्रयाकमा यो पनि लामो सुरुङ हो। यो सुरुङको २ हजार २५० मिटरमध्ये ८४७.७ मिटर खनिसकिएको छ।
नेपाली सेनाका अनुसार अहिले देवीचौर, मौरीभीर र सिसौटार सुरुङ खोल्ने काम पनि अघि बढेको छ। अहिलेसम्म यो आयोजनाअन्तर्गतका ८९ वटा पुल बनिसकेका छन्। उता खोकना-डुकुछाप क्षेत्रमा जग्गा अधिग्रहण र मुआब्जा विवाद नमिल्दा चारवटा पुल निर्माणले गति लिन सकेको छैन।
चालु आर्थिक वर्ष २०८३/८४ मा सरकारले फास्ट ट्र्याकका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्याएको छ। आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ खनिसक्ने योजना सेनाको छ।
यो फास्ट ट्रयाक ललितपुरको खोकनाबाट सुरु भए मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्व-पश्चिम राजमार्गमा जोडिन्छ। यो बहुप्रतिपक्षित आयोजना निर्माण भए काठमाण्डु-राई यात्रा एक घण्टामै सम्भव हुनेछ।


प्रतिक्रिया