शान्ति सुरक्षामा खलल पुर्याउने तत्वलाई निस्तेज पार्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

शान्ति सुरक्षामा खलल पुर्याउने तत्वलाई निस्तेज पार्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति सुरक्षा कायम र सुशासन ल्याउन कटिबद्ध हुन सुरक्षा किनकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री बादलले नागरिकलाई सुखी बनाउने लक्ष्य प्राप्तिका लागि योजनावद्ध तरिकाले तत्काल कार्यान्वयनमा जान निर्देशन दिएका हुन् ।

शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय सफल भएको चर्चा गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको बताए ।

बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी मकवानपुरको हेटौंडामा सम्पन्न गर्दै उनले आर्थिक अपराध, महिला हिंसा, तस्करी र लागूऔषध कारोबार नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी मार्फत अझै बढी सक्रिय हुनुपर्नेमा जोड दिंदै गृहमन्त्री थापाले अवाञ्छित गतिविधि गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने तत्वलाई निस्तेज गर्नुपर्ने बताए ।

परिणामले मात्र लक्ष्य प्राप्त गर्न सकिने भएकोले जिम्मेवारीपूर्ण रुपमा प्रस्तुत भई आदर्श कर्म गर्नुपर्ने उनले चर्चा गरे । कारागारलाई सुधारगृहको रुपमा परिणत गर्नुपर्नेमा उनले जोड दिए । नेपाल भ्रमण वर्षलाई सफल बनाउन उच्च प्राथमिकता दिएर पर्यटक भित्र्याउन विविध कार्यक्रम कार्यान्वयन गरिएको उनले उल्लेख गरे ।

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा उक्त गोष्ठी शनिबारदेखि सुरु भएको हो ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले परिणाममुखी र प्रमाणमुखी अनुसन्धानमा जोड दिई अनुसन्धानलाई परिपक्व बनाउनुपर्ने चर्चा गर्दै सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरी अझै उत्कृष्ट काम गर्नुपर्ने बताए । अवाञ्छित गतिविधि नियन्त्रण, घटनास्थल संरक्षण लगायतमा जोड दिनुपर्ने उनले बताए । कार्यालय व्यवस्थापन, चौकिस्तरसम्म क्षमता विस्तार र बेरुजु फर्छौटमा सुधार गर्दै सेवाग्राहीलाई मर्या्दित व्यवहारका साथ सेवा प्रदान गर्नुपर्ने उनले बताए ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले प्रदेशस्तरीय सुरक्षा प्रतिवेदन प्रस्तुत गरेको उक्त गोष्ठीमा बागमती प्रदेशका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो जिल्लाको शान्ति सुरक्षा र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या र चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल र अन्तरक्रिया समेत भएको थियो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई तथा विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, नेपाली सेनाका उच्च अधिकृतहरु, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, बागमती प्रदेशका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवं १३ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।