सिन्धुलीको जाम छिचोल्न नसकेपछि रक्षामन्त्री काठमाडौं फर्किए

सिन्धुलीको जाम छिचोल्न नसकेपछि रक्षामन्त्री काठमाडौं फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बिपी राजमार्गको खुर्कोटमा जाममा परेका छन् ।

गाडीको ठक्करबाट स्थानीय ५५ वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछि विरोधमा बिहानदेखि स्थानीयले खुर्कोटमा सडक बन्द गराएका थिए ।

वामपन्थी नेता ऋषी देवकोटा ‘आजाद’ को स्मृती सभामा सहभागी हुन आएका उनी बाटो अवरुद्ध भएका कारण जाममा परेका हुन् । भिमानमा आयोजना भएको स्मृती सभामा भाग लिन पोखरेल बिपी राजमार्ग हुँदै सिन्धुली जाँदै थिए ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बाटो अवरुद्ध भएका कारण उपप्रधानमन्त्री पोखरेल पनि रोकिएको बताए ।

‘बाटो बन्द भएकाले केही समय उपप्रधानमन्त्री पनि रोकिनुभयो,’ उनले भने, ‘क्याविनेट बैठकमा भाग लिनु छ भन्दै काठमाडौं फर्कनुभयो ।’

सडक अबरुद्ध भएका कारण कार्यक्रममा सहभागी नभई पोखरेल काठमाडौं फर्किन लागेको गौतमले बताए ।

श्रेष्ठलाई सवारीले ठक्कर दिइ भागेको स्थानीयले बताएका छन् । श्रेष्ठको लाश सडक तलको खोल्सामा भेटिएको थियो । कुन सवारीले ठक्कर दिएको भन्ने खुलेको छैन । सडक अवरुद्ध भएपछि दर्जनौं सवारी बाटोमा रोकिएका छन् । गौतमले केहीबेर देखि एकतर्फि बाटो खुलेको बताए ।

श्रेष्ठका छोरा काठमाडौंबाट आएपछि बार्ता गर्ने सहमतीमा एकतर्फि बाटो खुलाइएको उनले जानकारी दिए ।