काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नै केक काटिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् । नेपालको नक्सा आकृतिको केक काटिएको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख थापाले भने, ‘गुगलमा खोज्नु भयो भने पुटिन (रुसी राष्ट्रपति), ओबामा (अमेरिकाका पूर्वराष्ट्रपति) र मोदी (भारतीय प्रधानमन्त्री) ले मातृभूमिको नक्सा र देशको झण्डा जन्मदिनको केकमा प्रयोग गरेको पाउन सक्नुहुन्छ । प्रधानमन्त्रीज्यूको जन्मदिनमा पनि त्यहि अन्तर्राष्ट्रिय अभ्यासलाई पालना गरिएको हो ।’
थापाले प्रधानमन्त्रीका शुभेच्छुकहरूले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा उक्त जन्मदिनको कार्यक्रम आयोजना गरेको र त्यसमा राज्यको पैसा खर्च नभएको समेत दाबी गरे ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको जन्मोसत्वलाई लिएर अनावश्यक तरङ्ग पैदा गर्न खोजिएको बताए ।
‘पिछडिएको मानसिकता भएका व्यक्तिहरू न अन्तर्राष्ट्रिय अभ्यास हेर्छन् न प्रचलन हेर्छन् । उनीहरू अनावश्यक तरङ्ग पैदा गर्न खोज्छन् । यसको म केही अर्थ देख्दिन’, उनले भनेका छन् ।
उनले उक्त केक स्थानीय शुभेच्छुकहरूले बनाएको भन्दै त्यसमा प्रधानमन्त्री वा सचिवालय संलग्नता नरहेको बताए ।




प्रतिक्रिया