काठमाडौं – ठूलो संख्यामा नेपाली रहेको दक्षिण कोरिया कोरोना भाइरसले आक्रान्त बनेको छ । नेपाली युवाको रोजगारीको गन्तव्य रहेको कोरियामा अहिलेसम्म कोरोना संक्रमितको संख्या आठ सय नाघेको छ ।
त्यस्तै २२ जना उपचारपछि घर फर्किएका छन् भने ८ जनाकोा कोरोनाका कारण मृत्यु भइसकेको छ । यो संख्या दिनानुदिन बढ्दै गइरहेको छ । कोरियामा अहिले करिब ४० हजारको संख्यामा नेपाली रहेका छन् । विद्यार्थी र कामदारको रुपमा कोरियामा बसोबास गरिरहेका नेपालीहरु अहिले त्रासमा छन् ।
कोरियामा कार्यरत एक जना नेपालीले कोरोनाका कारण त्रासमा काम गर्न बाध्य रहेको जानकारी दिए । काठमाडौंपाटीको सम्पर्कमा आएका एक युवाले कोरोनाका कारण आफू कार्यरत कम्पनीले ससंक्रमणको उपाय अवलम्बन नगरेको जानकारी दिए ।
उनले संक्रमणबाट जोगिन छुट्टा–छुट्टै राख्नु पर्नै भए पनि ३÷जनाको समूहमा बस्न बाध्य भएको गुनासो पोखे । ‘यहाँ(कोरिया)नेपालीहरु जोखिम मोलेर काम गर्न बाध्य छन् । जोखिन न्यूनिकरणका लागि कुनै उपाय अपनाइएको छैन्’, काठमाडौंपाटीसँग कुरा गर्दै उनले भने, ‘ अहिलेसम्म त संक्रमण फैलिएको छैन् तर, संक्रमण फैलिइ हाले के गर्ने भन्ने चिन्तामा छौं ।’
उनले सरकारी पक्षबाट कुनै कदम नचालेको बताए । कोरियास्थित नेपाली दूतावासबाट पनि कुनै जानकारी नआएको उनले बताए । उनले कोरोनाको त्रासबाट नेपाल फर्किने नपालीको संख्या बढेको जानकारी दिए । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक चिन्तामा देखिन्छन् ।
‘यहाँ त्यस्तो महामारी नभए पनि घरमा चिन्ता गर्छन् । नेपाल फर्कि भन्छन् । समाचारहरु पनि त्रास फैलिनेमात्र आउँछन् यसले झनै चिन्ता थपेको छ’, कोरियामा कार्यरत अर्का युवाले भने, ‘यहाँको सरकारले सुरक्षात्मक उपाय अपनाए पनि त्यो पर्याप्त छैन् ।’
साथै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ ।
इपिएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ । कोरिया सरकारले पनि मुलुकमा सङ्क्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ ।
इपिएस प्रणालीबाट कोरिया पुगेका नेपालीको सङ्ख्या ६५ हजार बढी रहेको छ । भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको सङ्ख्या पनि उच्च रहेको छ । हालसम्म कोरियामा कुनै पनि नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छैन ।
सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुुद रोगको सङ्क्रमण फैलँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन जरुरी रहेको दूतावासले जनाएको छ ।
नेपाली दूतावासले पनि सक्रियतापूर्वक विभिन्न सचेतनामूलक जानकारी सबै नेपालीमाझ सम्प्रेषण गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा सिओल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको दूतावासले जनाएको छ ।
सबैभन्दा बढी सङ्क्रमित देखापरेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।




प्रतिक्रिया