काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।
राप्रपा (संयुक्त) ले एक विज्ञप्ति जारी गर्दै मधेसका दर्जनौं नागरिकका लागि संविधान संशोधन गर्न कुनै चासो नदेखाएको तर, एक व्यक्तिका लागि यस्तो कदम चालिनु दुर्भाग्र्यपूर्ण रहेको ठहर गरेको छ । राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपशिमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्तिमा सरकार संविधान ध्वस्त पार्न कसिएको आरोप लगाएका छन् ।
‘एक व्यक्तिको लागि संविधान संशोधन गर्ने हो भने यो नालायक र प्रजातन्त्र विरोधी प्रयास हो । तराई–मधेसमा दर्जनौं नागरिकले संविधान संशोधनको लागि सहादत प्राप्त गरेको यथार्थता छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार यसबारे सामान्य छलफल गर्न पनि तयार भएको छैन । तर अचानक अब एक व्यक्तिको लागि संविधान संशोधन गर्ने अभियानले यो सरकार र सत्ताधारी दल स्वयम् यो संविधान ध्वस्त गर्न कसिएको स्पष्ट छ ।’
त्यस्तै उनीहरुले गोकुल बाँस्कोटाको भैष्टाचार काण्डबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
‘बाँस्कोटा काण्डको छानविन गरी दोषीलाई हदै सम्म सजाय गरिनु पर्दछ । यो काण्डमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जोसुकै संलग्न भएको भएपनि तिनीहरुको जनतामारा चरित्र र अनुहार पर्दा भित्र नलुकाइयोस् भनि हाम्रो दल माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
साथै राप्रपा (संयुक्त)ले अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस नेपालमा भित्रिन सक्नेभन्दै सकर्तकता अपनाउन सरकारसँग माग गरेको छ ।
‘सरकारले अपनाउन पर्ने सतर्कता र तयारीमा गम्भिरता देखिएको छैन । कोरोना भाइरस भएका देशबाट नेपाल आउनेहरुको निगरानी व्यवस्थामा ध्यान दिइएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘भाइरस नेपाल भित्र देखिएमा त्यसलाई नियन्त्रण गर्न चाहिने न्यूनतम हस्पिटल सुविधा तथा अन्य चाहिने उपकरणहरुको व्यवस्था गरिएको छैन । यसबारे सरकारको अविलम्ब ध्यान जाओस् ।’





प्रतिक्रिया