मेरा छोराछोरीलाई बीएसम्म पढाउँछु, त्यसपछि पढ्ने खर्च दिन्नः मन्त्री पुन

मेरा छोराछोरीलाई बीएसम्म पढाउँछु, त्यसपछि पढ्ने खर्च दिन्नः मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्ना एक छोरा र एक छोरीलाई स्नातकपछि आफूले खर्च दिएर नपढाउने बताएका छन् ।

रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले स्नातकपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको उल्लेख गरे ।

‘मेरो एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, मन्त्री पुनले भने, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ । म आर्थिक दायित्व लिन सक्दिनँ, आफैं कमाएर पढ्नू भनिसकेको छु ।’

मन्त्री पुनले स्नातक तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु विडम्बना भएको बताए । उनले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षत गर्न अभिभावकहरुलाई आग्रह गरे ।

विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गरे ।

‘१८ वर्ष पुगेको हरेक मानिस दक्ष जनशक्ति हो’, उनले भने, ‘१८ वर्षपछिकाले बाबुआमाको कमाइ खाने होइन, आफैं कमाएर खानुपर्छ ।’

आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिंडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गरे ।

गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पसहरु बेरोजगार उत्पादन गर्ने थलोमा रूपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सीप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री बताए ।

‘सरकारले व्यवहारिक, वैज्ञानिक र जीवनोपयोगी शिक्षामा जोड दिएको छ’, मन्त्री पुनले भने, ‘अब स्कुल र क्याम्पसबाट बेरोजगार होइन, देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन्छ ।’

उनले विद्यालयस्तरमै प्राविधिक धारको शिक्षामा जोड दिइएकाले विगतको जस्तो अवस्था अब नरहने उल्लेख गरे ।