काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम सांसद बन्न चाहन्छन्, राजकीय पदमा पुग्न चाहन्छन् । स्पष्ट रुपमा भन्दाखेरी उनी प्रधानमन्त्री बन्न चाहन्छन् ।
प्रधानमन्त्री बन्न चाहेर मात्रै भयो त ? भएन । प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य हुनुपर्छ । उनले प्रतिनिधिसभा सदस्य बन्न अनेक प्रयास गरे । सांसद बन्ने घनचक्कर हुम्लादेखि काठमाडौंसम्म पुग्यो । तर वामदेवको सांसद बन्ने सपनामा एकपछि अर्काे धक्का लाग्दै आएको छ । उपाध्यक्ष गौतमको राजनीतिमा घटित तीतो यथार्थ हो, बर्दियाबाट उनी पराजित हुनु ।
नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग प्रतिनिधिसभा सदस्य निर्वाचनमा गौतम पराजित भएका थिए । निर्वाचनको मैदानमा जनताले गौतमलाई ५ वर्षका लागि अयोग्य सावित गरेका थिए । तर गौतमले राजनीतिक जीवनको तीतो यथार्थलाई बिर्सेर सांसद हुँदै प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरिरहेका छन् ।
पछिल्लो पटक उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रयास विवादमा परेको छ । नेकपा सचिवालय बैठकबाट सिर्जित भएको संविधान संशोधनको प्रयास यतिसम्म कमजोर देखिएको छ कि त्यो प्रयास भएको हो भनेर खुलेर बोल्ने आट समेत कसैसँग छैन । गोप्य राख्दै गुपचुपमै गर्न खोजिएको प्रयास चुहिएपछि नेकपा नेतृत्व रक्षात्मक भएको छ ।
लोकतान्त्रिक प्रणालीमा जनताबाट पराजित नेताले ५ वर्ष चुपचाप बस्नुपर्ने नैतिकता देखाउनुपर्छ । लोकतन्त्रको आधार निर्वाचन नै भएकाले नेतृत्वले जनताबाट अस्वीकृत भएको यथार्थलाई स्वीकार्नुपर्छ । वामदेवको जीवनमा आएको यो तीतो यथार्थलाई उनले चटक्कै बिर्सेर सर्वाेच्च राजकीय पद प्रधानमन्त्री बन्ने इच्छा देखाइरहेका छन्, जुन विवादित बन्दै आएको छ ।
नेकपाभित्रको आन्तरिक समीकरण र शक्ति सन्तुलन फेरबदल भएको बेला संवैधानिक स्थिरतालाई कमजोर बनाउने गरी संशोधनको प्रयास गरिएको भन्दै सत्तारुढ नेकपा पार्टीकै आलोचना सुरू भएको छ । सामाजिक सञ्जालमा चलिरहेको आलोचना संसद बैठकसम्म पुगेको छ ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गरे । ‘एमसीसीमा नेकपाभित्रकै खाँटी राष्ट्रवादीले तपाईंलाई तह लगाइदिएका छन् ।
एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्ने कार्यदल बनाउने कुरामा तपाईं जसरी कमजोर देखिनुभयो, यो देखेपछि तपाईंलाई बाहिर के भन्दैछन् थाहा छ ? देखिँदाखेरी सुरो यथार्थमा विचरो भन्दैछन्,’ थापाले भने । संविधान संशोधनको विषय प्रधानमन्त्री र नेकपाको आलोचनाको विषय बनेको छ ।
देशभित्र संविधान संशोधनका लागि समाजवादी पार्टी नेपालले वर्षाैदेखि आवाज उठाउँदै आएको छ । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले समेत संविधान संशोधनका लागि दबाब सिर्जना गर्दै आएको छ । समाजवादी पार्टीले सरकार संविधानका लागि गम्भीर नभएको भन्दै सरकारबाट बाहिरिने निर्णय नै ग¥यो । एउटा समुदाय र क्षेत्रको आवाजलाई बेवास्ता गर्दै नेकपाले एउटा व्यक्तिलाई प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने प्रयासको औचित्य र आवश्यकता पुष्टि हुनसक्ने देखिँदैन ।
बाहिरी विवाद र आलोचना मात्र होइन, नेकपा सचिवालयमै पनि विवाद चर्किने देखिएको छ । संविधान संशोधनको प्रयास बाहिर सार्वजनिक नगर्ने गम्भीर सहमति उल्लंघन भएको र अनाधिकृत रुपमा सूचना चुहिएको भन्दै आगामी सचिवालय बैठकमा एकअर्काप्रति आरोप प्रत्यारोप हुने नेकपा स्रोतको दाबी छ । नेकपाभित्र शक्ति संघर्ष चलिरहेका बेला संविधान संशोधनको प्रयास विवाद बढाउने अस्त्रको रुपमा अगाडि आएको छ ।
नेकपा सरकारप्रति जनतामा रहेको आशा र अपेक्षा पूरा गर्न सरकारको प्रभावकारी बढाउनुपर्ने, आलोचना घटाउन सुधारका काम गर्नुपर्ने बेला नेकपा नेतृत्व बेमौसमी बाजा बजाउनतिर लागेको छ । निर्वाचनका बेला नेकपाले जनतामा गरेका वाचा पूरा गर्न संसदमा वामदेव नभई नहुने भएको हो ? वामदेव विना जनताका अपेक्षा पूरा गर्न नसकिने हो भने संसदमा रहेका नेकपाका सांसद र सरकार असफल भएको हो ? यी प्रश्न नेपाली जनताको मानसपटलमा जन्मिरहेका छन् ।




प्रतिक्रिया