सुखानी शहीद स्मृतिसभामा सहभागी हुन ओली–प्रचण्ड बिर्तामोड जाँदै


झापा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का आध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झापा जाने भएका छन् ।

आगामी फागुन २१ गते नेकपा झापाले आयोजना गरेको सुखानी शहीद ४७औं स्मृति तथा श्रद्धाञ्जली सभामा सहभागी हुन उनीहरु बिर्तामोड जान लागेका हुन् ।

झापा र इलामको सिमाना सुखानीको जंगलमा तत्कालीन राजनीतिक बन्दीहरु रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल र विरेन राजवंशीको २०२९ फागुन २१ गते हत्या गरिएको थियो । सो दिनको स्मरणमा हरेक वर्ष स्मृति दिवस मनाउँदै आइएको छ ।

नेकपा झापाले आयोजना गरेको उक्त वृहद स्मृति सभामा प्रधानमन्त्री ओली प्रचण्डसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्षद्वय, वरिष्ठ नेता खनाल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले सुखानी शहीद स्कृति पार्क सालबारीमा शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

शहीदको शालिकमा माल्यार्पण पछि बिर्तामोडको सुगम पेट्रोल पम्प नजिकै रहेको खुला मैदानमा वृहत श्रद्धाञ्जली सभा गरिने तय भएको अध्यक्ष पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement