काठमाडौं – काठमाडौं उपत्यकासँगै देशका अधिकांश भागमा वर्षा भइरहेको छ । शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिम वायुको प्रभावले देशका अधिकांश भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ ।
देशका केही स्थानहरूमा मेघ गर्जनचट्याङहावाहुरी असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउनु हुन अनुरोध छ ।
बैतडीमा हिमपात
लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । खोड्पे, श्रीभावर, गर्जेलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।
यो वर्ष लगातारको वर्षा र हिमपातले अझै पनि चिसो कम हुन नसकेको पाटन नगरपालिका–८ खोड्पेका मोहनसिंह ऐरले बताए । लगातारको वर्षा र हिमपातले चिसो बढेको उनले बताए ।
यो वर्ष फागुन अन्तिम सातासम्म हिमपात नरोकिएपछि उच्च लेकाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर भएको सिगास–९ चौखामकी लक्ष्मीचन्द शाहले जानकारी दिए । वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा बाहिर निस्कनसमेत मुस्किल भएको उनले बताए ।
चिसोको समयमा स्वासप्रस्वास र निमोनियाजस्ता रोग लाग्न सक्ने भएकाले यो बेला वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन स्वास्थ्यकर्मीले बताएका छन् । यो वर्ष हिमपात र वर्षा नरोकिएपछि बेँसी क्षेत्रमा गहुँबालीमा समेत असर परेको छ ।
बेँसी क्षेत्रमा वर्षाका कारण गहुँबालीमा क्षति पुगेको किसानले बताएका छन् । लगातारको वर्षाको कारण गहुँमा विभिन्न रोग देखा परेका कृषि प्राविधिकले बताएका छन् ।
हुम्लामा पनि हिमपात
हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ ।
हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । शुक्रबार बिहान मौसम सफा भएर घाम लागेको भए पनि दिउँसोबाट मौसममा एक्कासि परिवर्तन हुँदा हिमपात शुरु भएको हो ।
मौसममा आएको बदलीसँगै एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टकर बनाएको छ ।
स्याउ, ओखर, आरुलगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् ।
खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।




प्रतिक्रिया