कतारमा नेपालीलाई रोक

कतारमा नेपालीलाई रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक मानिएको कतारले नेपालीलाई त्यहाँ जान प्रतिबन्ध लगाएको छ।

कतारको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै कोरोना विषाणुको त्रासका कारण नेपाललगायत १४ मुलुकका नागरिकलाई अस्थायी रूपमा त्यहाँ जान प्रतिबन्ध लगाएको हो। कतार सरकारले नेपाली कामदारलाई प्रतिबन्ध लगाएको सूचना त्यहाँस्थित नेपाली दूताबासमार्फत प्राप्त भइसकेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका महानिर्देशक कुमार दाहालले कतारस्थित नेपाली दूताबासबाट प्रतिबन्ध लगाइएको सूचना प्राप्त भएकाले पुनः अर्को सूचना नआउँदासम्म श्रम स्वीकृति जारी नहुने बताए। ‘हामीले नरोके पनि गन्तव्य मुलुकले प्रतिबन्ध लगाएपछि अब कतारमा नेपाली कामदार जान सक्दैनन्,’ उनले भने।

कोरोना त्रासका कारण वैदेशिक रोजगारीमा जानेको संख्या करिब ७५ प्रतिशतले गिरावट आएका बेला कतार सरकारको उक्त निर्णयले यो संख्या झनै घट्ने अनुमान गरिएको छ। यसअघि कुबेतले पनि नेपाली कामदारलाई प्रतिबन्ध लगाइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।