वुहानमा अमेरिकी सेनाले कोरोना भाइरस ल्याए: चीन

वुहानमा अमेरिकी सेनाले कोरोना भाइरस ल्याए: चीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनले वुहानमा कोरोना भाइरस देखा पर्नुमा अमेरिकी सेनाको हात रहेको आशंका गरेको छ । गत वर्ष डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय २७ देशमा फैलिसकेको छ ।

तर कोरोना भाइरस चीनको ऊहानमा नै उत्पत्ति भएको कुरामा त्यहाँका विशिष्ठ व्यक्तित्व विश्वस्त हुन सकेका छैनन् । हालै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाका कारण कोरोना भाइरस ऊहानसम्म आइपुगेको बताएका छन् ।

प्रवक्ता झाओ लिजियानले ट्वीट गर्दै लेखे, ‘अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमित कहिले भेटियो ? कतिजना संक्रमित भए ? अस्पतालका नाम के हुन् ?’

झाओले उक्त महामारी वुहानसम्म ल्याइपुर्‍याउन अमेरिकी सैनिकको भूमिका हुनसक्ने अनुमान गरेका हुन् ।

केही दिन अघि दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूतले पनि कोरोना भाइरस चीनबाटै उत्पत्ति भएको नहुनसक्ने सम्भावना व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘यो भाइरस चीनमा पहिलो पटक देखियो भन्नुको अर्थ यो चीनबाटै उत्पत्ति भएको भन्ने होइन ।’

लिजियानको प्रमाणित ट्विटर एकाउन्टमा अंग्रेजीमा गरिएको ट्विटमा अमेरिकाले पारदर्शिता नदेखाएको आरोप लगाइएको छ ।

‘अमेरिका बिरामी शून्य अवस्थामा कहिलेदेखि थियो ? कति संक्रमित छन्, ती अस्पतालका नामहरु के हुन् ? सम्भवतः तिनै अमेरिकी सेना हुनसक्छन्, जसले वुहानमा कोरोनाभाइरस ल्याए’, झाओले भनेका छन्, ‘पारदर्शी हुनुहोस् ! आफ्नो तथ्याङ्क सार्वजनिक गर्नुहोस् ! अमेरिका, हामीलाई विस्तृत विवरण चाहियो ।’

बिहीबार झाओकै समकक्षी विदेश मन्त्रालयका अर्का प्रवक्ता गेंग शुआंगले अमेरिकी अधिकारीहरुको आलोचना गर्दै अनैतिक र अनुत्तरदायी भन्ने प्रतिक्रिया दिएका थिए । अमेरिकी अधिकारीले बेइजिङको भाइरसविरुद्धको कदम प्रभावकारी नहुँदा विश्वमा महामारी सृजना भएको आरोप लगाएपछि गेंगले आलोचना गरेका हुन् ।

कोरोना भाइरस संक्रमण २०१९ को डिसेम्बरमा पहिलोपटक चीनको वुहानमा देखिएको थियो । हालसम्म विश्वमा १ लाख २५ हजार हाराहारीमा संक्रमण फैलिएको छ भने ४ हजार २ सय ९८ बढीको मृत्यु भएको छ । अमेरिकामा ९ सय ७५ जनामा संक्रमण र ३० जनाको मृत्यु भइसकेको छ ।