ओखलढुङ्गा – ओखलढुङ्गामा लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययन गरिएको छ । सिद्धिचरण नगरपालिकाको रुम्जाटार र चिशङ्खुगढी गाउँपालिकाको माम्खालाई जोड्ने गरी करिब ६०० मिटर भन्दा लामो झोलुङ्गे पुल बनाउन सम्भाव्यता अध्ययन गरिएको हो ।
प्रदेश नम्बर– १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको पहलमा स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन इञ्जिनीयरसहितको टोलीले स्थलगत रुपमा पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको हो ।
आफूहरुले हेरेर फर्किएको र थप प्राविधिक टोली पठाएर त्यसको लागत र प्रभावसहितको विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पुल निर्माण गरिने स्थानीय पूर्वाधार विकास विभागका सिनियर डिभिजन इञ्जिनीयर माधव भट्टराईले जानकारी दिए ।
“हाम्रो एउटा विशेष टोलीले हेरेर फर्कियो । सम्भावना राम्रै देखिएको छ । अब प्राविधिक पठाएर नापजाँच गरेपछि डिपिआर बनाएर कार्यक्रममा समेट्छौं”, भट्टराईले भने, “६०० मिटर भन्दा लामो हुने देखियो, त्यहाँ पुल बन्यो भने त्यो एशियाकै लामो र ऐतिहासिक पुल हुनेछ ।” उहाँका अनुसार नेपालमा सबै भन्दा लामो ५६७ मिटरको पुल बागलुङ जिल्लामा निर्माणाधीन अवस्थामा छ ।




प्रतिक्रिया