कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड-१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूले पहिलो पहल अनुसार पाँच दिनअघि भिडियो सम्मेलन गरेर आफ्ना अनुभव साटासाट गरेका थिए । जसले विश्व मञ्चमा सकारात्मक सन्देश दिएको थियो ।

सङ्कटका बेला क्षेत्रीय पहलमै केही गर्न सक्ने क्षमता प्रकट गरेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भिडियो सम्मेलनको प्रशंसा गरिएको थियो । भिडियो सम्मेलनमा गर्न सकिने पहलका बारेका समेत बहस भएको थियो । साझा रणनीति बनाउनेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्ने सङ्घर्षका लागि आपत्कालीन कोष खडा गर्न प्रस्ताव गर्नुभएको थियो ।

कोरोना फैलावटको नियन्त्रण तथा त्यसका लागि सबै सदस्य राष्ट्रले एकसाथ पूर्वतयारी, कार्यसम्पादन र बनेका रणनीतिको सफल कार्यान्वयन हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सार्क मुलुकका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखले एकमत प्रकट गर्नुभएको थियो । सो अनुसार सार्क मुलुक आफ्नो गृहकार्यलाई ठोस रूप दिन अभ्यासरत छन् । जसअनुसार नेपालले आफ्नो योजना निर्माणमा पहलकदमी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मुख्यगरी आपत्कालीन कोषमा सहभागिता जनाउने र साझा रणनीतिमा आफ्ना बलियो धारणा प्रस्तुत गर्ने विषयमा सरकारले तयारी सुरु गरेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिनुभयो । उहाँका अनुसार भिडियो सम्मेलनका आधार पछ्याउने क्रममा परराष्ट्रस्थित क्षेत्रीय सङ्गठन महाशाखाले नेपालको हकमा हुने गरी पहल थालेको छ । जसमा नेपालका विभिन्न मन्त्रालय, सरोकारवाला निकायलाई सक्रिय बनाएर सुझाव सङ्कलन थालिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।