अस्पतालमा प्रहरी परिचलान गर्ने तयारी, कोरोनाका बिरामीलाई रेफर नगर्न निर्देशन

अस्पतालमा प्रहरी परिचलान गर्ने तयारी, कोरोनाका बिरामीलाई रेफर नगर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नोवल कोरोना (कोभिड–१९)को संक्रमणबाट जोगिन १५ बुँदे निर्णय सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र पहिचानका लागि यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री ढकालले चेकजाँचमा खटिने स्वास्थ्यकर्मीका लागि छुट्टै आवासको ,व्यवस्था मिलाउन निर्देशन दिएका छन् । संक्रमितसँग नजिक रहनुपर्ने स्वास्थ्यकर्मीले घर जाँदा घरपरिवारमा समेत सर्ने सम्भावना रहने भएकाले चिकित्सकका लागि अस्पतालमै छुट्टै आवासको व्यवस्था मिलाउने निर्णय समेत गरिएको हो ।

मन्त्रालयको निर्णयमा भनिएको छ, ‘कोभिड–१९ का शंकास्पद बिरामीहरूको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू घर जाँदा घरमा रहेका बृद्धबृद्धा तथा केटाकेटीहरूमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीहरूले चाहेमा निजहरूलाई सम्बन्धित अस्पतालले छुट्टै आवासको व्यवस्था मिलाउने ।’

मन्त्री ढकालले अस्पतालमा कोरोनाको आशंका गरिएका बिरामी आए अन्यन्त्र पठाउन नपाइने र सोही अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्न निर्देशन दिएका छन् ।

‘आइसोलेसनमा राखिएका बिरामी तथा आफन्तहरुले आइसोलेसनमा नराख्न तथा तत्काल घर पठाउन अस्पताल तथा चिकित्सकहरुलाई दबाब दिने हुँदा उक्त अस्पतालमा सुरक्षा चुनौती हुनसक्ने भएकाले त्यस्तो अस्पतालहरुमा सुरक्षाको व्यवस्था गरिदिन गृहमन्त्रालयलाई अनुरोध गर्ने,’ मन्त्री ढकालले भनेका छन् ।