बजारमा खाद्यान्नको अभाव छैन, कालोबजारी गर्नेलाई पाता कस्छौंः मन्त्री भट्ट

बजारमा खाद्यान्नको अभाव छैन, कालोबजारी गर्नेलाई पाता कस्छौंः मन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले कालोबजारी गर्नेलाई पाता कस्ने चेतावनी दिएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री भट्टले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको स्पष्ट पार्दै संकटका बेला कालोबजारी गर्ने जो कोहीलार्ई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
कालोबजारी र अभाव गर्न खोज्ने तीन लाई लाख र ५ वर्षसम्मको कैद गरिने उनले स्पष्ट पारे । उनले भने, ‘बदमासी गर्न खोज्नेहरुलाई सबैले कारबाही गर्नुपर्छ । त्यस्तो गरेको पाए सुचना दिनुहोस् । हामी कारबाही गर्छौं ।’ उनले सरकारले क्षमताभन्दा बढि नै आपूर्ति व्यवस्था गरेको सुनाए ।

उनले भने, ‘सबैको सहयोग भयो भने हामी आपूर्ति लगायतका समस्या समाधान गर्न सफल हुन्छौं ।’ उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सुचना दिनसमेत आग्रह गरे । उनले भने, ‘११३७ मा फोन गर्नुहोस् । हामी व्यवस्थापन गर्छौं ।’ उनले यो बीचमा ६० देखि ७० लाख राजश्व उठेको सुनाउँदै गलत गर्नेहरुलाई कारबाही गरिएको पनि स्पष्ट पारे ।

उनले आपूर्ति व्यवस्थापनको लागि सरकारले पूरै योजनाबद्ध ढंगले काम गरिरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘अहिलेको अवस्थामा तत्काल आपूर्ति व्यवस्थापन कसरी गर्ने भन्ने एउटा तयारी छ, अर्को अलिक गम्भिर अवस्था आयो भने कसरी गर्ने र महामारी नै आयो भने कसरी गर्ने भन्नेपनि तयारी छ ।’

मन्त्री भट्टले बजारमा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने मनोवृत्तिले उपभोक्ताले संचितीकरण गर्न थालेकोले केही समस्या उत्पन्न भएको बताए । उनले भने, ‘कतिले चारदेखि ६ वटासम्म सिलिण्डर राख्ने गरेका छन्, कतिले त दुई चार बोरा चामल राख्ने गरेका छन् । यस्तो अवस्थामा कतिपय व्यापारीले पनि मौकाको फाईदा उठाउनलाई कालोबजारी गर्न सक्छन् । हामीले मन्त्रालयको टिमलाई पूरै परिचालन गरेका छौं । कोहीपनि कर्मचारी विदामा नबसी फिल्डमा खटिनुभएको छ ।’

खाद्यान्नलगायतका अत्यावश्यक सामाग्रीको कुनै अभाव नहोस र सहज तवरले आपूर्ति व्यवस्थापन गर्नको लागि आफ्नो नेतृत्वमा एक समिति गठन भएको समेत उनले बताए । उनले भने, ‘त्यो समितिमा तीनवटै सुरक्षा निकायका प्रतिनिधि हुनुहुन्छ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि, चेम्बर अफ कमर्स, सिएआई, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि हुनुहुन्छ । हामी विशेष तयारीका साथ काम गरिरहेका छौं ।’

मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्नेपनि बताए । उनले भने, ‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले सुरक्षाकर्मीहरु र अस्पतालमा खटिने कर्मचारीहरुको लागि अत्यावश्यक वस्तुको व्यवस्थापन गरिने पनि विश्वास दिलाए ।

उनले मास्क अहिले बाहिरबाट पनि आईरहेको र नेपालमा उत्पादन क्षमतापनि बढाएको सुनाए । उनले भने, ‘हाम्रो उत्पादन क्षमता कम छ । तर, माग बढि छ । हिजोको दिनमा २५ हजार खपत हुन्थ्यो,अहिले अत्यधिक माग बढेको छ । डिमाण्डअनुसार प्रोडक्सन भएको छैन् । तर, अहिले हामीले क्षमताभन्दा बढि उत्पादन भैरहेको छ ।’