काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएका जनतालाई सरकारले खाद्यान्नलगायत राहत दिनुपर्ने बताएका छन् ।
लकडाउनका बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै प्रचण्डले न्यून वर्गीय श्रमिक जनताका लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
शनिबार भिडिओ सन्देश जारी गर्दै प्रचण्डले ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारले विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने नै छ’ भन्ने सुझाव दिएका छन् ।
उनले निजी क्षेत्रका व्यवसायीलाई पनि गरिब र असहायको सहयोगमा लाग्न आग्रह गरेका छन् ।
‘गरिब, असहायको सहयोगमा मुठी फुकाउन निजी क्षेत्रका व्यवसायीको पनि ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन् ।
उनले लकडाउनका बेला घरबाहिर ननिस्कन प्रचण्डले आग्रह गरेका छन् ।
उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले गर्दै आएका कामप्रति धन्यवाद दिएका छन् । सञ्चार माध्यमलाई पनि विश्वसनीय सूचना उपलब्ध गराउन उनले आग्रह गरेका छन् ।
‘घरमै बसेर आफू र परिवारको जीवन रक्षा गर्न म अपिल गर्दछु,’ उनले भनेका छन् । उनले उच्च ज्वरो, सुख्खा खोकीलगायत लक्षण देखिए परीक्षणका लागि अस्पताल जान आग्रह गरेका छन् ।
कोरोनाभाइरसबाट बच्न उच्च सतर्कता अपनाउनुपर्ने भन्दै प्रचण्डले चीन, अमेरिका, इटाली, कोरियाबाट पाठ सिकेर होसियार हुनुपर्ने बताएका छन् ।




प्रतिक्रिया