कोरोना भाईरसबारे सूचना दिन नेपाली सेनाले बनायो मोबाइल एप

कोरोना भाईरसबारे सूचना दिन नेपाली सेनाले बनायो मोबाइल एप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) भाइरसबारे जानकारी लिन र सही सूचना दिन नेपाली सेनाले मोबाइल एप बनाएको छ।

(कोभिड-१९) को प्रभावले नेपालमा पनि संक्रमण देखिएको र भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सो रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन सेनाले मोबाइल एप बनाएको हाे । शनिबार विज्ञप्ति जारी गर्दै सेनाले आम सर्वसाधारणबाट कोरोनाबारे सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले एप बनाएको विज्ञप्ति मार्फत् जानकारी गराएको हो।

‘भविष्यमा महामारीका रुपमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रोगको रोकथाम, प्रतिकार र नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा ‘क्राउड सोर्सिङ’को अवधारणा अनुरुप सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नामक मोबाइल एप तयार गरी प्रयोगमा ल्याएको छ’, सेनाको विज्ञप्तिमा भनिएको छ।

यो एपमार्फत् सर्वसाधारणले परिवार, छिमेकी र साथीभाइमा कोरोना लक्षण देखिए विवरण पठाउन सक्नेछन्। सेनाले संकटमा आधिकारीक सूचनाका निम्ति यो एप महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

यो एप डाउनलोड गर्न सेनाको आधिकारीक वेभसाइट https://www.nepalarmy.mil.np/बाट गर्न सकिन्छ। सेनाले एपको प्रयोगविधिलाई समेत वेभसाइटमा राखेको छ। जसका लागि यो लिंकमा क्लिक  गर्नुपर्ने हुन्छ।

नेपाल र नेपालीले व्यहोरेको हरेक विपत्तिहरुमा आमनागरिकको साथ र सहयोगमा नेपाल सरकारका सबै निकाय र संघ संस्थाहरु तथा नागरिक समाजसँगको सहकार्य ऐक्यवद्धताले यो राष्ट्रिय लडाई पनि जित्‍न सकिने कुरामा नेपाली सेना विश्वास राख्दछ । साथै कोरोना भाईरस (कोभिड-१९) निर्मुल पार्न आमनागरिकको स्वास्थ्य सुरक्षा तथा त्यससँग सम्बन्धित सबै विषयहरुमा भविष्यमा नेपाल सरकारले अङ्‍गीकार गर्ने सबै रणनीति तथा कार्यनीतिको कार्यान्वयनमा नेपाली सेनाले आफ्नो सम्पूर्ण शक्ति र क्षमताले योगदान दिने प्रतिवद्धता पनि व्यक्त गर्दछ ।