एजेन्सी – कोरोनाभाइरसको बिमारीले अमेरिकामा बिकराल रुप लिएको छ । यहाँ हरेक दिन हजारौको संख्यामा नयाँ संक्रमित देखा पर्ने गरेका छन् । दैनिक मृत्यु हुनको संख्या पनि सयौ हुन थालेको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा लागू स्वेच्छिक लकडाउनलाई ३० अप्रिलसम्मका लागि बढाउने फैसला गरेका छन् ।
उनले यो अवधिसम्म मानिसलाई घरमै बस्न र सामाजिक दुरी कायम गर्नका लागि भनेका छन् । अमेरिकामा नेपालमा जस्तो पूर्ण रुपमा लकडाउन लागू गरिएको छैन् ।
कयौं विज्ञले यसको माग समेत गरेका थिए । तर डोनाल्ड ट्रम्पले यसको अस्वीकार गरेका छन् । तर प्रशासनले भीड जम्मा नगर्न, घरमै बस्न र सामाजिक दुरीको पालना गर्न अपिल गरेको छ ।
सोमबार बिहानसम्म अमेरिकामा कोरोनाभाइरसबाट कुल १ लाख ४० हजार भन्दा अधिक संक्रमित भइसकेका छन् । २४८९ मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् । आइतबार अमेरिकामा १७,८५१ नयाँ संक्रमित देखिएका थिए भने २९८ ले ज्यान गुमाएका थिए ।
विगतका दिनमा डोनाल्ड ट्रम्पले ईस्टरसम्म देश खुला राख्न चाहेको बताएका थिए । यस्तोमा लकडाउन नगरेपनि हुने अवस्था कायम हुन सक्ने अनुमान लगाइएको थियो । तर लगातार बढ्दो मृत्युका कारण ट्रम्पले सामाजिक दुरी कायम राख्ने नीतिलाई अगाडि बढाए र यसलाई ३० अप्रिलसम्मका लागि लागु गरे ।
आइतबार अमेरिकी विज्ञले अमेरिकामा कोरोनाभाइरसबाट पीडित हुनेको संख्या १० लाख नाघ्न सक्ने बताएका थिए । यहाँ २ लाख मानिसले यो महामारीबाट ज्यान गुमाउन सक्ने दावी उनीहरुको छ । यो बयानपछि अमेरिकी प्रशासनको चिन्ता झनै बढेर गएको छ । अमेरिकामा कोरोनाभाइरसको सर्वाधिक घटना न्यूयोर्कमा देखिएको छ ।




प्रतिक्रिया