बहादुरसिंह लामा (तामाङ)
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारणले विश्व शिथिल बन्दै गइरहेको छ । यसका कारण विश्व अर्थतन्त्र नै नराम्रोसँग प्रभावित हुने भएको छ । कोभिड–१९ कै कारण व्यापार, व्यवसाय ठप्प भएका छन् । विभिन्न देशहरूले कोभिड–१९ बाट बच्न लकडाउन विधि अपनाइरहेका छन् ।
चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक पहिचान भएको उक्त भाइरसले सरुवा रोगको रूपमा उग्ररूप लियो । वुहानबाट यो भाइरसले अमेरिका, इटाली, बेलायत, फ्रान्स, जर्मनी, भारतलगायत विश्वका १ सय ९० भन्दा बढी मुलुकमा महामारीको रूप लिएको छ । यो लेख तयार गर्दासम्म कोभिड–१९ ले ३९ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । त्यस्तै ८ लाखभन्दा धेरैको संख्यामा यो रोगबाट संक्रमित छन् । यो सँगै हालै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । तर, मृत्युदर भने शून्य छ ।
चीनबाहेक अन्य कुनै पनि मुलुकले कोभिड–१९ को नियन्त्रण गर्न सकिरहेका छैनन् । यो अवस्थामा नेपालजस्तो न्यून स्रोत र साधन भएको मुलुकमा भित्रिनु नै ठूलो दुर्भाग्य हो । यसले ठूलो धनजनको क्षतिसँगै अर्थतन्त्रमा गम्भीर संकट पैदा गर्दैछ । राज्यभित्र भएका उद्योग, व्यापार तथा व्यवसायहरू पूर्ण रूपमा ठप्प छन् । एकातिर राज्यमा गरिबी, बेरोजगार, अशिक्षा, भ्रष्टाचारजस्ता समस्याले जरो गाडेको बेला लकडाउनले गर्दा गरि खाने वर्गलाई सबैभन्दा बढी समस्या जेलेको छ ।
जनसंख्याको नियन्त्रण हुने प्राकृतिक कारणमध्ये बेलाबेला प्रकृतिमा देखा परिरहने महामारी, दैवी प्रकोप इत्यादि हुन् । त्यसबाट बच्न संयमता र सावधानीभन्दा अरु कुनै विकल्प छैन ।
मुलुकमा रोजगारीको व्यवस्था नहुँदा अधिकांश युवाहरू वैदेशिक रोजगारीमा भर पर्नुपर्ने अवस्था छ । रोजगारदाता मुलुकहरू समेत कोभिड–१९ को संक्रमण परेकाले यसैमा आश्रित परिवारको दैनिकी संकटमा परेको छ । यहि कारण राज्यको आयलाई टेवा पुर्याउँदै आएको रेमिट्यान्स शून्यजस्तै देखिन्छ । कुल गार्ह्रस्थ उत्पादन घटेको छ । बैंक तथा वित्तीय क्षेत्रहरू पूर्णरूपले तहसनहस हुने स्थितिमा छ । भौगोलिक विविधताले दिएको प्राकृतिक सम्पदाले विश्वलाई लोभ्याइरहेको थियो । यहि सम्पदाको कारण भित्रिने पर्यटकहरू पनि अहिले ठप्प छ । पर्यटकहरू नभित्रिएपछि पर्यटन क्षेत्रको ढोकामा ताला झुन्डिएको छ । मुलुकले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र पर्यटन नै ठप्प भएपछि मुलुकको दीर्घकालीन समग्र विकासमा नै बाधा पुग्ने देखिन्छ ।
राज्यले आम नागरिकको जीवन रक्षा गर्ने बेलामा आफैँ झिनामसिना कुरामा अल्झिएको छ । कहिलेकाहीँ प्राकृतिक प्रकोप तथा महामारीका कारण मुलुकमा गम्भीर संकटको सिर्जना हुनु स्वभाविक कुराहरू हुन् । जस्तोसुकै परिस्थितिमा नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । मुलुकले पटक(पटक प्राकृतिक प्रकोप महामारीजस्तो विषम परिस्थितिसँग लड्दै आएकै हो । विगतका ती परिस्थितिलाई हृदयंगम गर्दै त्यसका लागि सरकार सचेत र सजक रहनु पथ्र्यो । तर, सरकार यस्ता कुरामा गम्भीर हुन सकेन । महामारीले विश्वलाई आक्रमण गरिरहेको बेला राज्य मूकदर्शक बन्यो । यो महामारीको सम्भावना बढ्दै जाँदा संक्रमित मुलुकसँगको हवाइ उडान मात्र बन्द गर्न सकेको भए आज परिस्थिति आक्रान्त हुने थिएन । तर, त्यो सम्भावना टरिसकेको छ । जल्दोबल्दो समस्याको तत्काल समाधानमा लाग्नुको सट्टा सरकार र मन्त्रीहरू औषधिजन्य पदार्थ खरिदमा अनियमिततामा मुछिनु लज्जाको विषय हो । सत्यतथ्य कुराहरू त बिस्तारै सार्वजनिक हुने नै छन् ।
माल्थसको सिद्धान्तलाई आधार मान्ने हो भने जनसंख्याको नियन्त्रण हुने प्राकृतिक कारणमध्ये बेलाबेला प्रकृतिमा देखा परिरहने महामारी, दैवी प्रकोप इत्यादि हुन् । त्यसबाट बच्न संयमता र सावधानीभन्दा अरु कुनै विकल्प छैन । त्यसैले कोभिड–१९ बाट बच्ने एउटै विकल्प सावधानी र सचेतता हो । विगतका अनुभवलाई स्मरण गर्दै राज्यका सम्पूर्ण अंग पूर्णरूपले सक्रिय हुनुपर्ने अवस्था आएको छ । तत्कालीन असरलाई ध्यानमा राख्दै वर्तमान अवस्थाको ठोस निराकरणको उपाय ननिस्केसम्म लकडाउन खुलाउनु गैरजिम्मेवार कार्य हुनेछ ।
यसकारण मुलुकमा संभावित भोकमरी तथा आर्थिक संकटलाई ध्यानमा राखी सरकारले तत्काल राहत प्याकेज उपलब्ध गराउनु जरुरी छ । बैंक तथा वित्तीय क्षेत्रलाई सुरक्षित तरिकाले डिजिटल पद्धतिद्वारा सञ्चालन गर्नु अर्को बुद्धिमता हुन सक्छ, जसले विनिमय प्रक्रियालाई सहज बनाउने छ ।
यतिबेला विश्वभरका स्वास्थ्यकर्मीहरुले रोगसँग लडिरहेकाहरुलाई सहयोग गरिरहेका छन् भने सुरक्षाकर्मीले सरकारको निर्णय कार्यान्वयन गर्न गराउन अहोरात्र खटिएका छन् । यसकारण स्वास्थकर्मीलाई बढी चुनौती रहेको छ । उनीहरुको सुरक्षासँगै बिरामीका लागि यथेष्ट पूर्वाधार निर्माण तथा आवश्यकीय उपकरणको प्रबन्ध तत्काल मिलाउन जरुरी रहेको छ ।
यो भयभित स्थितिबाट यतिबेला आफूसँगै परिवार, समाज र राष्ट्रलाई बचाउने जिम्मेवारी एक सचेत नागरिकको दायित्व पनि हो । मुलुक यतिबेला गम्भीर संकटको संघारमा छ । केही वर्षअघि मात्र भूकम्पले शिथिल बनाएको सर्व्विदितै छ । यस्ता प्रकोपको सामना गर्नेभन्दा अरु कुनै विकल्प छैन । यति बेला यो वा त्यो नभनी यस महामारीको विरुद्धमा एकले अर्कालाई साथ दिँदै अघि बढ्नु जरुरी छ ।
बिशेष गरि मेरो निर्वाचन क्षेत्र,पार्टी प्रति बिश्वास र सम्भावना बोकेका युवा,दाजुभाइ दिदिबहिनी हरु…..
मुलुक एतिबेला गम्भीर संकटको सङ्घारमा छ।हाम्रो मुलुक बिकासको जग हाल्ने चरणमा छ।यो सगै केही बर्ष अगाडि मात्र भुकम्प ले सिथिल बनाएको स्मरण ताजै छ।यस्ता प्रकोपको सामना गर्ने भन्दा हामिसँग कुनै बिकल्प छैन।फेरि हाम्रो अगाडि कोरोना रोगको गम्भीर चुनौती थपिएको छ।विश्व लाई थला पारेको यो घडिमा अपसोच रोगले फराकिलो रुप लियो भने ब्यहोर्ने भन्दा दोश्रो उपाय छैन।सहयोग गर्ने सबै हातहरु रोगले टुक्राटुक्रा पारिसकेको छ । त्यसैले गर्दा हाम्रा थुप्रै समस्या हरु हुनसक्छन् । ती समस्यालाई केहि समय लाई केहि समय परै छाडेर आफू बँच्ने आधार बनाउनु नै हाम्रो आजको जित हुने छ । त्यसैले गर्दा आफू र आफ्नो परिवार लाई साबधान पुर्बक जिबनयापन गर्न हातेमालो गरौं । यो प्रकोपको बिचमा तपाईहरुको समस्या समाधान गर्न हरपल तपाई हरु सग सहयात्रा गरिरने छु ।
जय नेपाल् ।
(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य हुन् ।)




प्रतिक्रिया