एजेन्सी – अमेरिकी एयरक्राफ्ट क्यारियरमा कोरोना भाइरसको संक्रमण भएको जानकारी गराउने कमाण्डर पदमुक्त भएका छन् । उनलाई गलत निर्णय गरेको भन्दै पदमुक्त गरिएको हो ।
उनले एक दिन अगाडिमात्र नेभि नेतृत्वलाई सहयोग आवश्यक भएको बताउँदै चेतावनी सहित मेमो लेखेका थिए। बिहीवार अमेरिकी नेभिका कार्यबाहक सचिव थोमस मोड्लीले उनलाई पदबाट हटाएको जानकारी दिए ।
अमेरिकी थियोडोर रुजबेल्टका क्याप्टेन ब्रेत क्रोजियरलाई क्यारियर ग्रुपका कमाण्डर रिअर एडमिरल स्टीवर्ड बेकरेले प्रतिस्थापन गरेका छन् ।
‘क्रोजियरलाई एकदम गलत निर्णय गरेका कारण हटाइएको हो,’ कार्यवहाक सचिव मोड्लीले भने ।
मोड्लीले क्रोजियर चेन अफ कमाण्डभन्दा बाहिर गरेर मेमो असुरक्षित प्रणालीबाट पठाएको र यो सूचना चुहिने खतरा भएको बताए ।
‘उनले सूचना चुहिएला भन्ने हेक्का राखेनन् जुन उनको जिम्मेवारी थियो,’ मोड्लीले भनेका छन्, ‘उनलाई हटाउन ममाथि कुनै दबाब पनि परेको छैन । मैले ह्वाइट हाउससँग यस विषयमा कुनै पनि संवाद गरेको छैन । मैले यस विषयमा सेक्रेटरी एस्परसँग कुरा गरेको र मेरो जस्तो निर्देशन आएपनि समर्थन गर्ने प्रतिवद्धता पाएँ ।’




प्रतिक्रिया