साउदीमा नेपालीलाई आफ्ना नागरिक सरह स्वास्थ्य सेवा दिइरहेका छौंः विदेशमन्त्री सउद

साउदीमा नेपालीलाई आफ्ना नागरिक सरह स्वास्थ्य सेवा दिइरहेका छौंः विदेशमन्त्री सउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले साउदी अरेबिया अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन परहान अल सउदसँग आज टेलिफोन वार्ता गरेका छन् ।

विश्वका १९ देशका सरकार र तिनका केन्द्रीय बैंकका गभर्नर सदस्य रहेको अन्तरराष्ट्रिय मञ्च (समूह–२०) को अध्यक्ष राष्ट्रका हैसियतमा साउदी अरेबियाले कोभिड–१९ को महामारी फैलिएका बेला सदस्य देशहरुलाई भिडियो कन्फ्रेन्सिङका माध्यमबाट एकजुट गराएकामा त्यसको सराहना गर्दै मन्त्री ज्ञवालीले आप्रवासी नेपाली श्रमिकको हेरविचार गरेकामा कृतज्ञता ज्ञापन गरे ।

सङ्कटको वर्तमान घडीमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा र स्वास्थ्य सेवा आवश्यक पर्नसक्ने भएकाले त्यसतर्फ विचार गर्न मन्त्री ज्ञवालीले राजकुमार सउदसँग अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकको हित, रोजगारी तथा सुरक्षाका निम्ति पनि उनले राजकुमार सउदलाई अनुरोध गरे ।

प्रत्युत्तरमा साउदी राजकुमारले आफ्ना नागरिकसरह नेपाली कामदारलाई स्वास्थ्य सेवा प्रदान गरिएको र उनीहरुको रोजगारी तथा सुरक्षाप्रति आश्वास्त पारे । उनले नेपाली श्रमिकको इमानदारी, लगनशीलता, परिश्रम र विनम्रताको प्रशंसा गरे ।

ठूलो सङ्ख्यामा साउदी अरेबियामा रहेका आप्रवासी नेपाली श्रमिकले त्यहाँको आर्थिक उन्नयन उल्लेखनीय योगदान गर्दै आएका छन् जसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याएको छ ।