काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट प्रकरणमा छानबिन समिति गठन भएको छ । ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको प्रकरणमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।
हिजो साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेको आरोप प्रहरीमाथि छ ।
चिकित्सकहरूले आफूमाथि लाठी प्रहार भएको आरोप लगाएका छन् । समितिले घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा के गर्ने भन्नेबारे निर्णय हुने रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
चिकित्सक कुटिएको विषयमा चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले दोषी प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै संघले परिचयपत्र देखाउँदादेखाउँदै पनि प्रहरीबाट चिकित्सक कुटिनु अक्षम्य भएको जनाएको छ ।




प्रतिक्रिया