अध्यादेशविरुद्ध कांग्रेसको संघर्षः सडक प्रदर्शन नगर्ने, सामाजिक सञ्जालमा कालो झण्डा देखाएर विरोध

अध्यादेशविरुद्ध कांग्रेसको संघर्षः सडक प्रदर्शन नगर्ने, सामाजिक सञ्जालमा कालो झण्डा देखाएर विरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दुई वटा अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

मंगलबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय पदाधिकारी बैठकले राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश फिर्ता लिन अपिल गरेको हो ।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले दुइटै विधेयक संविधानको मुल मर्म, भावना र अहिलेको परिस्थितिमा ल्याउन नहुने कांग्रेसको निष्कर्ष रहेको जानकारी दिँदै फिर्ता लिन सरकारलाई अपिल गरिएको बताए ।

उनका अनुसार बैठकले विधेयक फिर्ता लिएर नागरिकको जीवनप्रति गम्भीर बन्न र सम्पूर्ण रुपले कोरोनासँग जुध्नेतिर केन्द्रीत हुन सरकारलाई अपिल गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिले परामर्श नगरी अध्यादेश अनुमोदन गरेकोबारे बैठकमा छलफल भएको थियो ।

‘राष्ट्रपतिले कुनै छलफल वा परामर्श नगरी समय नलगाइकन, उहाँले हठात् तत्कालै प्रमाणीकरण पनि गर्नुभएको छ,’ प्रवक्ता शर्माले भने ।

बैठकले अपिलका साथै विधेयक फिर्ता लिन सार्वजनिक रुपमा पनि दबाब दिने निर्णय गरेको छ । ‘लकडाउन भएकाले सडक प्रदर्शन गर्दनौं । जिम्मेवार रुपमा सामाजिक सञ्जालबाट बोल्छौं । भातृ संगठनहरु बोल्छन् । कालो झण्डा देखाउने पनि हुन्छ,’ प्रवक्ता शर्माले भने ।