अमिताभ र अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की, दुई शंकास्पद सुटर पक्राउ

अमिताभ र अभिषेक बच्चनलाई ज्यान मार्ने धम्की, दुई शंकास्पद सुटर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई ग्याङस्टर गोल्डी ढिल्लनले ज्यान मार्ने धम्की दिएका छन्। सुरक्षा व्यवस्था कडा पारिए पनि दुवैलाई निशाना बनाउने चेतावनी उनले दिएका हुन्।

मुम्बईस्थित अमिताभ बच्चनको निवास ‘जलसा’ बाहिर आक्रमण गर्ने योजना बनाएको आरोपमा लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित दुई जना शंकास्पद सुटरलाई दिल्ली प्रहरीले पक्राउ गरेको केही दिनपछि यस्तो धम्की आएको हो।

को हुन् गोल्डी ढिल्लन र के दिएका छन् धम्की?
मिडिया रिपोर्टका अनुसार लरेन्स बिश्नोई गिरोहसँग सम्बन्ध रहेको बताइएका गोल्डी ढिल्लनले फेसबुक पोस्टमार्फत धम्की दिएका हुन्।

उनले पक्राउ परेका विकास ठाकुर र दीपक सिंह आफ्नो समूहका सदस्य भएको दाबी गर्दै उनीहरूको पक्राउले समूहको योजनामा कुनै असर नपर्ने बताएका छन्।

उनले अमिताभ र अभिषेक बच्चनलाई नामै लिएर सुरक्षा व्यवस्था जति कडा बनाए पनि निशाना बनाउने चेतावनी दिएका छन्। एनडीटीभीका अनुसार पोस्टमा भनिएको छ, ‘जति नै बुलेटप्रुफ संरचना बनाए पनि उनीहरूमाथि गोली चलाइनेछ।’

यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक उक्त पोस्टको आधिकारिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन। पछिल्लो धम्की आउनुभन्दा एक दिनअघि दिल्ली प्रहरीको विशेष सेलले आक्रमणको योजनामा संलग्न रहेको आरोपमा दुई जना शंकास्पद सुटरलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा पञ्जाबको जालन्धरका विकास ठाकुर उर्फ विक्की र तरनतारनका दीपक सिंह उर्फ दीप रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका दुई जना छुट्टाछुट्टै तर एकआपसमा सम्बन्धित हुन सक्ने योजनामा संलग्न रहेको आशंका गरिएको छ। ‘इन्डिया टुडे’का अनुसार विकास ठाकुरलाई दिल्लीका एक व्यवसायीलाई लक्षित गरी फिरौती असुल्ने उद्देश्यले आक्रमण गर्न पठाउने तयारी थियो। तर अनुसन्धानकर्ताहरूले मुम्बईस्थित अमिताभ बच्चनको निवास ‘जलसा’ बाहिर उनीमाथि आक्रमण गर्ने योजना पनि रहेको आशंका गरेका थिए।

उक्त योजनामा विकास ठाकुरसँगै दीपक सिंह पनि सहभागी हुने तयारीमा रहेको बताइएको छ। प्रहरीले उनीहरूलाई नोभेम्बर १३ मा पक्राउ गरेको थियो।

सुरक्षा चिन्ताबीच अमिताभ बच्चनको रहस्यमय पोस्ट

यसैबीच, घटनाक्रम सार्वजनिक भइरहेका बेला अभिनेता अमिताभ बच्चनले नोभेम्बर १५ मा सामाजिक सञ्जाल एक्स (X) मा छोटो सन्देश लेखेका थिए। उनले ‘बच गए’ (बाँचियो) भन्दै पोस्ट गरेका थिए।

तर उनले उक्त पोस्ट के सन्दर्भमा लेखेका हुन् भन्नेबारे केही खुलाएका छैनन्। साथै, उनले आफ्नो पोस्टलाई आफूविरुद्ध आएको भनिएको धम्कीसँग प्रत्यक्ष रूपमा जोडेका पनि छैनन्।