काठमाडौं – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मधेश केन्द्रीत दल समाजवादी र राजपा नफुट्ने दाबी गरेका छन्। नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने समेत बताएका हुन् ।
मधेश केन्द्रीत दुई दल राजपा नेपाल र समाजवादी पार्टीबीच बुधबार एकता गर्ने समझदारीमा हस्ताक्षर भएको थियो। नेता महतोसहितका नेताहरू अहिले दल एकीकरणको निवेदन दिन निर्वाचन आयोग पुगेका छन्।
निर्वाचन आयोगमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै महतोले भने, ’फुट्ने सुट्ने कुरा छैन, सबै मिलिहाल्छ।’ बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरिरहेको समाजवादी पार्टीका केही सांसदहरूले छुट्टै दल बनाउने कोशिश गरिरहेको थिए। रेणु यादवको नेतृत्वमा समाजवादीका ७ सांसद बुधबार साँझसम्म छुट्टै पार्टी निर्माणको तयारीमा थिए। तर राजपाका अध्यक्ष मण्डलका नेता महतोले फुट्ने हल्लाबीच जेटर देखाइदिएको बताए।
एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । यो एकताबाट पार्टीका कतिपय नेताहरु असन्तुष्ट रहेको र उनीहरुले पार्टी फुटाउने चर्चा चलिरहेको बेला नेता महतोले भने पार्टी नफुट्ने दाबी गरे ।




प्रतिक्रिया