दुःखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

दुःखका साथी स्थानीय सरकार र सुरक्षाकर्मी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– काशीराम शर्मा,बाँके – सुनसरीका ताङचुक बासुक मियाँ ३ महिनादेखि सुर्खेतमा मजदुरी गर्थे । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि १५ दिन विना काम बस्नुपर्दा भोकै बस्ने अवस्था आएपछि प्रहरीलाई गुहारे । उनको अवस्था बुझेपछि सुर्खेत प्रहरीको सहयोगमा सुनसरी जानका लागि उनी ३ घण्टामा कोहलपुर पुगे ।

‘म यता लकडाउनमा परें । २ छोरा भारतमा लकडाउनमा छन् । श्रीमती बिरामी परेकी थिइन् । धेरै गुहार गरेपछि प्रहरीले मेरो समस्या बुझ्यो । निकै खुशी लाग्यो,’ कोहलपुरको चौराहामा भेटिएका उनले भने । उनलाई चौराहाबाट स्थानीय सरकार र प्रहरीको समन्वयमै बुटवलसम्म पुर्‍याइएको थियो ।

जाजरकोटकी रुपा विक पनि गत चैत ७ गते उपचारका लागि नेपालगञ्ज आएकी थिइन् । यहाँ पुगेको केहीदिनमै लकडाउन भएपछि लामो समयसम्म सपरिवार होटलमा बसिन् । कोहलपुर चौराहामा भेटिएकी उनले भनिन्, ‘उपचार भएन । अलिअलि भएको पैसा पनि सकियो । खान समस्या भएपछि हाम्रो स्थानीय सरकारले जाजरकोटबाट गाडी पठाएको छ, यसैले यहाँका आएका हौंं ।’

उनका अनुसार उनीहरूजस्तै अलपत्र परेका नागरिकलाई स्थानीय सरकारले सहयोग र उद्धार गरेर घरसम्म जाने वातावरण बनाइदिएको छ । नेपालगञ्जबाट कर्णाली तथा सुदूरपश्चिम दैनिक जाने ५ सयभन्दा बढी छन् । कोरोना भाइरसको त्रासबीच आफ्नो घर पुग्न भोकभोकै पैदल हिँडेर जान थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले उनीहरुलाई सहजरुपमा घरसम्म पुग्ने वातावरण निर्माण गरिरहेका छन् । लकडाउनमा हजारौं किलोमिटर हिँडेर जान थालेपछि अलपत्र र बेवारिसेलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन थालिएको हो ।

स्थानीय सरकारले १ हप्तादेखि बन्दाबन्दीका मारमा परेका नागरिकको उद्धार तथा व्यवस्थापनलाई तीव्रता दिएका छन् । नेपालगञ्जबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा जाने नागरिकलाई गन्तव्यमा पठाउने गरिएको हो । पूर्वपश्चिम राजमार्गको चौराहामा कोहलपुर नगरपालिकाले खाना खाने व्यवस्थासमेत मिलाएको छ ।

नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरले अनिवार्यरुपमा स्वास्थ्य जाँच गर्ने तथा सम्बन्धित स्थानमा पठाउन सहयोग समन्वय गरिरहेका छन् । नगरपालिकाका प्रमुख लुटबहादुर रावतले महामारीका समयमा अपलपत्र नागरिकको उद्धारलाई मुख्य प्राथमिकता दिइएको बताए । उनले छिमेकी गाउँपालिकाको सहयोग तथा सुरक्षा निकायको समन्वयमा नागरिकलाई गन्तव्यमा पुर्‍याउने काम भइरहेको बताए ।

‘हामीले नगरपालिकाभित्र राहत वितरणसँगै बाहिर जानेहरुलाई उद्धार गरिरहेका छौं । चौराहामा हेल्थ डेस्कको स्थापना गरेर अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । यस्तो अवस्थामा कोही पनि नागरिकले दुःख नपाऊन्, भोकै नबसून् भनेर सक्रिय छौं,’ उनले भने ।