काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवै नेताबीच पार्टी सचिवालय र स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल भएको हो ।
कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई प्रचण्डले पार्टीका अधिकांश नेताहरुले बैठक बोलाउन माग गरेकाले तत्काल बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए । तर तर बैठक कहिले बोलाउने भन्ने बारेमा भने कुनै ठोस निर्णय भएको छैन् ।
नेकपाका नेताहरु झलनाथ खनाल, जनार्दन शर्मा र पम्फा भुसाललगायतले अध्यादेश फिर्ता गरेर मात्र नहुने भन्दै तत्काल स्थायी समिती बैठक बोलाउन माग गरिसकेका छन् ।दुवै नेताको भेटमा प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगर्दा अध्यादेशबारे विवाद भएको भन्दै आगामी दिनमा महत्वपूर्ण निर्णय गर्दा पार्टीसंग सल्लाह गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको स्रोतको दावी छ ।
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षसंगको बैठक पहिले कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफल गरेका थिए । त्यसपछि तीनै नेताहरुबीच त्रिपक्षीय बैठक भएको थियो ।




प्रतिक्रिया