अमेरिकी गुप्तचरको दाबी-इरानले वासिङ्टनमा बम विस्फोट गराउन सक्छ

अमेरिकी गुप्तचरको दाबी-इरानले वासिङ्टनमा बम विस्फोट गराउन सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरानले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार विस्फोट गराउन सक्ने अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।

अमेरिकी गुप्तचर निकायले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई इरानले निशाना बनाउने सम्भावित योजना बनाइरहेको दाबी गरेको हो ।

अमेरिकी गुप्तचर निकायले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणमा इरानले सम्भावित आक्रमणका विकल्प तयार पारिरहेको जनाएको छ।

गुप्तचर निकायले प्राप्त गरेको सूचनामा आक्रमणका सम्भावित स्थान र निशानासमेत उल्लेख छन्। तर इरानले तत्काल आक्रमण गर्ने निर्णय गरिसकेको प्रमाण भने फेला परेको छैन।

यस विषयमा ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले अमेरिकाले सबै सम्भावित खतरामाथि निगरानी गरिरहेको बताएकी छन्। उनका अनुसार अहिले अमेरिकी भूमिमा कुनै विश्वसनीय खतराको सूचना छैन।

अमेरिकी अधिकारीहरूले पछिल्लो एक सातामा सम्भावित आक्रमण रोक्ने उपायबारे विभिन्न बैठक गरेका छन्। इरानबाट प्राप्त अन्य सुरक्षा चेतावनीपछि अमेरिकी गोप्य सेवा (सिक्रेट सर्भिस) ले अर्थमन्त्री स्कट बेसेन्टलाई समेत गत साता सैन्य आवासमा स्थानान्तरण गरेको थियो।

अमेरिकी गुप्तचरका अनुसार इरानले अमेरिकाभित्रै बम बनाउन आवश्यक सामग्री लुकाएर राखेको हुन सक्छ। यस्तो आक्रमणका लागि इरानले आफ्ना प्रशिक्षित व्यक्ति नै अमेरिकामा पठाउनुपर्ने अनिवार्यता नरहेको र त्यहाँ पहिलेदेखि बसिरहेका व्यक्तिलाई प्रयोग गर्न सक्ने सम्भावना पनि औँल्याइएको छ।

के हो ‘डर्टी बम’ ?

डर्टी बम परम्परागत विस्फोटक पदार्थमा रेडियोधर्मी सामग्री मिसाएर बनाइने हतियार हो। यो आणविक बमभन्दा फरक हुन्छ। यसले ठूलो आणविक विस्फोट गराउनुको सट्टा रेडियोधर्मी पदार्थ फैलाएर मानिसमा त्रास सिर्जना गर्ने र निश्चित क्षेत्रलाई प्रदूषित बनाउने उद्देश्य राख्छ।

यसको निर्माण तुलनात्मक रूपमा सहज भए पनि आवश्यक रेडियोधर्मी सामग्री प्राप्त गर्नु मुख्य चुनौती हो। विज्ञहरूका अनुसार विस्फोटबाट हुने प्रत्यक्ष क्षति विकिरणबाट हुने क्षतिभन्दा बढी हुन सक्छ।
मध्यपूर्वमा अमेरिकी सैनिकमाथि पनि जोखिम

अमेरिकी गुप्तचरले मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिकमाथि इरानले रासायनिक हतियार प्रयोग गर्न सक्ने सम्भावनाबारे पनि सूचना प्राप्त गरेको छ।

केही अमेरिकी अधिकारीले त्यहाँ तैनाथ सैनिकसँग यस्तो आक्रमणबाट जोगिन पर्याप्त सुरक्षा उपकरण र तालिम नभएको बताएका छन्। यसैलाई ध्यानमा राख्दै अमेरिकी कूटनीतिक तथा गुप्तचर कर्मचारीलाई सुरक्षा उपकरण उपलब्ध गराउने र आवश्यक तालिम दिने योजना बनाइएको छ।

अमेरिका–इरान वार्तामा अनिश्चितता

अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्यमा जारी तनाव अन्त्य गर्ने, अमेरिकी नाकाबन्दी हटाउने र युद्ध अन्त्य गर्ने विषयमा वार्ता भइरहेको छ। तर अहिलेसम्म ठोस सहमति जुट्न सकेको छैन।

अमेरिकी अधिकारीहरूका अनुसार इरानले अमेरिकी भूमिमा आक्रमण गरे त्यसको गम्भीर प्रतिकार भोग्नुपर्ने जोखिम बुझेको छ। तर आफ्नो शासनसत्ता नै संकटमा परेको महसुस गरेमा इरानी नेतृत्वले जोखिमपूर्ण कदम चाल्न सक्ने सम्भावनालाई पनि नकारिएको छैन।

अमेरिकी गुप्तचरको पछिल्लो सूचनाले अमेरिका–इरान युद्धको जोखिम मध्यपूर्वमा मात्र सीमित नरहन सक्ने चिन्ता बढाएको छ। यद्यपि, वासिङ्टनमा डर्टी बम वा रासायनिक हतियार प्रयोग गर्ने इरानको योजना रहेको दाबी अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन।