काठमाडौँ – रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।
कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन चाहेको छ । समस्या परेका बेला मातृभूमि सम्झिँदै विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कन चाहन्छन् तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता अनुसार यस्तो महामारी चलेका बेला जो जहाँ छन्, त्यहीँको सुविधा लिएर
बस्नुपर्छ । यही मापदण्ड पछ्याउँदै नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई विदेशमै रहन भनेको छ ।
महामारीका बेला विदेशमा कुनै विपत्तिमा नेपाली नागरिक नपरून् भनेर सरकार प्रमुख र सम्बन्धित मन्त्रालयका उच्चाधिकारीसँग त्यहाँ रहेका नेपालीका लागि सहज वातावरण बनाइदिन कूटनीतिक आग्रह गरिएको छ । विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताउनुभयो । उहाँले विदेशमा विभिन्न थरीका नेपाली छन्, सबैलाई त्यसरी फिर्ता ल्याउन तत्काल सकिने अवस्था हुन्न भन्नुभयो ।
गैरआवासीय नेपाली सङ्घलाई विदेशका विभिन्न भूमिमा यतिबेला परराष्ट्र मन्त्रालयले सक्रिय बनाएको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली सङ्घमा आबद्ध पदाधिकारीसँग छलफल गरेर विदेशमा रहेका नेपालीलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो ।सबैभन्दा बढी श्रम मुलुकमा रहेका नेपाली स्वदेश फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रायः सबै श्रम मुलुकका नेपालीले फर्कन चाहेका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया