काठमाडौँ- लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७ करोड रुपियाँको कारोबार भएको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाल महिनामा चार अर्ब २८ करोड रुपियाँ राजस्व गुमिरहेको छ ।” पेट्रोलियम पदार्थको माग पछिल्लो एक सातामा ३३ प्रतिशत पुगेको छ । अप्रिल महिना अर्थात् वैशाख १७ सम्म २० प्रतिशत मात्र माग थियो । लकडाउनमा फाट्फुट गाडी चल्न थालेपछि माग बढेको निगमले जनाएको छ । बजार सामान्य अवस्थामा नपुग्दासम्म पेट्रोलियम पदार्थको माग बढ्न नसक्ने पौडेलको भनाइ छ । माग कम भए पनि पूर्ण रूपमा पेट्रोलियम पदार्थको भण्डारण गरिएको छ ।
पौडेलका अनुसार १५ हजार मेट्रिक टन ग्यास मौज्दात रहेको छ । लकडाउन खुलेर बजार सुचारु भए पनि १२ दिनलाई पुग्ने ग्यास मौज्दात रहेको उहाँले बताउनुभयो । भण्डारण अहिलेसम्मकै उच्च रहेको पौडेलेले बताउनुभयो । बुलेटहरूमा समेत मौज्दात राखिएको छ र लकडाउन लम्बिए पनि अभाव नहुने उहाँको भनाइ छ ।
हवाई उडान ठप्प भएपछि हवाई इन्धन पूर्ण रूपमा भण्डारण छ । पेट्रोलियम पदार्थको आयात नियमित भइरहेको छ । भारतसँगका सबै नाकाबाट आयात भइरहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा तत्कालका लागि मूल्य समायोजन नहुने भएको छ । बजारमा पेट्रोलियम पदार्थको माग नै नभएका बेला मूल्य घटाएर त्यसको फाइदा उपभोक्ताले लिन नसक्ने निगमको बुझाइ छ । मूल्य निर्धारणको सवालमा पौडेलले भन्नुभयो, “मूल्य समायोजनको सवालमा निगम गम्भीर छ, मूल्य घटाउँदा अहिले वास्तविक निम्न वा मध्यम वर्गले राहत पाउँदैन, यो वर्ग लकडाउनको प्रभावमा छ उनीहरूको खपत नै छैनभन्दा हुन्छ, सार्वजनिक सवारीहरू त चलेकै छैनन् ।”
बजार ठप्प भएका बेला पेट्रोलियम पदार्थको मूल्य समायोजनको अर्थ र प्रभाव नहुने उहाँको दाबी छ । कोरोना भाइरसका कारण विश्व बजार लकडाउन भएपछि पेट्रोलियम पदार्थको माग विश्वमै घटेको छ । कच्चा तेलको उत्पादक खाडी राष्ट्रहरूले उत्पादनमा कटौती गरेका छन् । मूल्यमा गिरावट आइरहेको छ तर लकडाउनका कारण नेपालमा मूल्य समायोजन नगरिएको निगमले जनाएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया