अब सीमा सुरक्षामा भारततर्फ बराबरकै बीओपी

अब सीमा सुरक्षामा भारततर्फ बराबरकै बीओपी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।

हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पु¥याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोहीअनुसारको खाका तयार भइरहेको जानकारी दिए ।

‘बीओपीलाई २ सय २१ बनाउने निर्णय पहिले नै भइसकेको हो । त्यसलाई पनि बढाउने गरी हामीले खाका तयार गरिरहेका छौं,’ सशस्त्र प्रहरीका महानिरीक्षक खनालले भने, ‘संख्या यति नै भन्ने टुंगो भएको छैन । ठूलो संख्यामा बढ्ने गरी तयारी भइरहेको छ ।’

गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य पथिकका अनुसार विगतका दिनमा सही ढंगले सीमा सुरक्षा हुन नसकेको अवस्थामा सरकारले सीमाको सुरक्षालाई बलियो बनाउने नीति छ । उनले हाल कायम रहेको बीओपीको संख्या बढ्दा दूरीसमेत व्यापक रूपमा घट्ने जानकारी दिए ।

‘पहिले २५ देखि ५० किलोमिटरको दूरीमा बीओपी थिए । अहिले आधा दूरी कम रहने गरी बीओपी थप भइसकेका छन् । अब नयाँ बीओपी स्थापना हुँदा ३ देखि ५ किलोमिटरको दूरीमा रहने गरी तयारी भइरहेको छ,’ पथिकले भने ।

हाल नेपालतर्फको सीमा नाकामा भारततर्फका ५ सय ३० बीओपी सञ्चालनमा छन् भने नेपालतर्फका सशस्त्र प्रहरीका १ सय २० बीओपी मात्रै स्थायी रूपमा खडा छन् । ती बीओपीमा ५ हजार जनशक्ति खटाइएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।