सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारी सञ्चालनका लागि निर्देशिका तर्जुमाको तयारी थालेको हो ।

नयाँ निर्देशिका कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्नका लागि निर्माण गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । निर्देशिकामा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक हमालले भन्नुभयो, “कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्ने सवालमा प्राविधिक मापदण्ड बनाएको हो, यसमा सरोकारवालासँग छलफल भइरहेको छ ।” उहाँले अहिलेको अवस्थामा कोरोनाबाट सुरक्षित रहेर सार्वजनिक यातायात सञ्चालन गर्ने कुरा नै प्रमुख रहेको तर सरकारबाट सार्वजनिक सवारी खुला गर्ने कुरा नआउँदा पनि आफ्नो तयारी गरेको जानकारी दिनुभयो ।

बन्दाबन्दीकै अवस्थामा सरकारले सार्वजनिक सवारी सञ्चालन गरेको खण्डमा कसरी सुरक्षित रहेर काम गर्ने भन्ने सवालका तयारी थालिएको हमालले बताउनुभयो । उहाँका अनुसार बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालन गर्नुपरे सामाजिक दूरी कायम हुनेगरी सञ्चालन गर्नुपर्ने छ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिनेछ ।

निश्चित स्थानबाट मात्रै यात्रु चढाउने तथा ओराल्ने गरिनेछ । तर पहिलाको तुलनामा आधा यात्रु राख्ने भएपछि खर्चसमेत नउठ्ने यातायात व्यवसायीको भनाइ छ । त्यसका लागि सरकारले भाडा वृद्धि गर्नुपर्ने वा व्यवसायीलाई अनुदान दिनुपर्ने कुरामा पनि छलफल भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।