रामगोपालपुरले जित्यो उद्घाटन खेल

रामगोपालपुरले जित्यो उद्घाटन खेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा –  गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाराको महागढीमाई नगरपालिकालाई ३४ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रामगोपालपुरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको महागढीमाईले १३१ रन मात्र बनाउन सक्यो । हारसँगै महागढीमाई प्रतियोगिताबाट बाहिरिएको छ ।

रामगोपालपुरका सुजित साह ‘म्यान अफ द म्याच’ घोषित भए । उनले बलिङमा ३ विकेट लिनुका साथै ब्याटिङमा १८ रन बनाएका थिए ।

चोहर्वा क्रिकेट टिमको आयोजना र गोलबजार नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका १६ टोली सहभागी छन् । चोहर्वा क्रिकेट टिमका अध्यक्ष सरोजकुमार रायले प्रतियोगितामा १६ टोली सहभागी रहेको जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य रामचन्द्र महतोले संयुक्त रूपमा ब्याटिङ र बलिङबाट गरेका थिए ।

प्रतियोगिताका विजेतालाई १ लाख ११ हजार र  उपविजेतालाई नगद ६१ हजार प्रदान गरिनेछ । खेलमा ‘म्यान अफ द सिरिज’ घोषित खेलाडीले ५ हजार १०० तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही २ हजार १०० नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताअन्तर्गत मंगलबार सिरहाको सुखीपुर नगरपालिका र सिरहा नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ ।