विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा उद्दार गरिने

विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा उद्दार गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले जुन १४ अर्थात् असार जेठ ३२ गतेबाट विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी स्वदेश फर्काउने अभियान सुरु गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार निर्णय गर्दै नेपाल उड्डयन प्राधिकरण तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारीका लागि निर्देशन समेत दिइसकेको छ।

कोभिड १९ को कहरका कारण सम्पूर्ण विश्वकै व्यवसाय ठप्प भएको छ भने सिमानाका तथा उडान बन्द गरी लकडाउन भइरहेको अवस्थामा विदेशमा अलपत्र परेका नेपाली भित्र्याउन सरकारले काम सुरु गर्न लागेको हो।

११ दिनको कार्यतालिका बनाएर २५ देशमा उद्दारका लागि पर्खिरहेका नेपाली स्वदेश फर्काउने निर्णय भएको मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले जानकारी दिए। १४ तारिकको पहिलो उडान नेपाल एयरलाइन्सले बंगालादेशका लागि गर्ने तय भएको लामिछानेले बताए।

नेपालीको उद्दार उडानका लागि सरकारले नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स र निजी विमान कम्पनी हिमालय एयरलाइन्सलाई तोकेको छ भने नेपाल उडान भर्दै आएका विदेशी विमान कम्पनीले पनि नेपाली ल्याउने उनको भनाइ छ। सम्बन्धित मुलुकको यात्रु भाडादर पनि सरकारले निर्धारण गरेको छ। हवाई इन्धनको मूल्य सस्तो भएकाले विमान कम्पनी तथा यात्रुलाई मर्का नपर्ने गरी भाडादर तय गरिएको सरकार बताउँछ।

नेपाल फर्किदा लाग्ने हवाई भाडा भने सम्बन्धित यात्रुले नै व्यहोर्ने पर्ने लामिछानेले बताए। यो अवधिमा करिब १२ हजार नेपालीलाई स्वदेश फर्काउने उनको भनाइ छ।

यता, नेपाल उड्डयन प्राधिकरणले पनि सरकारको निर्देशन प्रसारण गर्दै आवश्यक तयारीका लागि विमानस्थल तथा तोकिएका दुवै विमान कम्पनीलाई भनिसकेको प्रवक्ता राजकुमार क्षेत्रीले बताए। यहाँबाट विमान बाहिरिँदा र काठमाडौं अवतरण गरेपछिको सबै प्रक्रिया स्वास्थ्य मापनलाई ध्यान दिएर नै गरिने उनको भनाइ छ।

दैनिक ५ देखि ७ वटा सम्म उडान तालिका रहेकोमा नेपाल भित्रिने नेपालीको उचित व्यवस्थापन गर्ने गरी तयारी पूरा भइसकेको प्रवक्ता क्षेत्रीले बताए। बिहीबार नै कुवेत सरकारको पहलमा जजिरा एयरवेजले नेपालका लागि २ वटा उडान मार्फत् २९९ नेपाली लिएर आएको प्रवक्ताले जानकारी दिए। कूटनीतिक पहलमा उक्त जहाजले त्यहाँ रहेका नेपाली लिएर आएको बताइएको छ। यसअघि जुन ५ मा म्यानमार र यूएईबाट १९४ जना नेपाली भित्रिसकेका छन्।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।