कठमाडौं – कतारको दोहास्थित नेपाली दूतावासले समस्यामा परेर स्वदेश फर्कनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीहरुले नै नेपालीको स्वदेश फिर्ताका लागि विवरण टिपाएका गरी ५ हजार १ सय १२ नेपालीको विवरण दूतावासले शुक्रबार सार्वजनिक गरेको हो ।
विभिन्न कारणले समस्यामा परेका ५ हजार १ सय १२ जना प्राथमिकतामा परेका छन् । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा ४ वटा उडान हुनेछन् । तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् ।
उनीहरुबाट पनि प्राथमिकता छुट्याएर दूतावासले पहिलो चरणमा प्राथमिकतामा परेको नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रुपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ । दूतावासका अनुसार यही जुन १६ र २० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ तारिखमा हिमालय एयरलाइन्सका २ उडानबाट नेपाली स्वदेश फर्किनेछन्। तर कुनै प्राविधिक कारण उडानको मिति हेरफेर पनि हुन सक्ने दूतावासको सूचनामा उल्लेख छ ।
कतारबाट नेपाल फर्कनका लागि ४९० अमेरिकी डलर भाडा तोकिएको छ । तर आममाफी र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीलाई कतार सरकार आफैले ल्याइदिने छ । दूतावासले आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ ।
कतारको प्रचलित कानुन अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा भने दूतावासले कतारको सम्बन्धित निकायमा समन्वय गर्ने जनाएको छ । यस्तै अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता परेका छन् ।




प्रतिक्रिया