किसानले पाएनन् तरकारीको उचित मूल्य

किसानले पाएनन् तरकारीको उचित मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी- बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन्।

काठमाडौं, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । ‘उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ। जिल्लाबाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको छ,’ प्रतापपुर- ६ कठहवाका किसान इन्द्रेश कुमार भन्छन्।

अहिले किसानका खेतमा करेला, बोडी, भिण्डी, टमाटर, घिरौँला, खुर्सानी, काँक्रो, मुला, फर्सी, लौकालगायत तरकारी तयारी अवस्थामा छन्। उत्पादित कृषि उपजलाई ठूला बजारसम्म पुर्‍याउन समस्या हुँदा तरकारीले उचित मूल्य नपाएको प्रतापपुर- ६ गुठीप्रसौनीका किसान मनोज कोइरी बताउँछन्।

बन्दाबन्दीभन्दा अन्य समयमा व्यापारीले किसानको खेतखेतमा पुगेर उचित मूल्यमा तरकारी खरीद गर्ने गरे पनि अहिले व्यापारी नआउँदा तरकारी खेतमै रहेकाले सस्तोमा बेच्नुपरेको किसानहरुको भनाइ छ।

बन्दाबन्दीका कारण ठूला बजारसम्म उत्पादित तरकारी पुर्‍याउन निकै कठिन भएपछि सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गरिएको किसान बताउँछन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १० हेक्टर क्षेत्रफलमा करीब ५० मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ।