गलवान भ्यालीको हिंसात्मक झडपमा हामी जिम्मेवार छैनौंः चीन

गलवान भ्यालीको हिंसात्मक झडपमा हामी जिम्मेवार छैनौंः चीन


एजेन्सी – चीनले भारतसँगको सीमा विवाद समाधानका लागि दुवै देशका कूटनीतिक र सैनिकहरु घनिष्ट संवादमा रहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सीमा क्षेत्रमा भारतसँग थप संघर्ष नचाहेको बताएका छन् ।

उनले भने, ‘दुवै मुलुकबीच वर्तमान समस्यालाई समाधान गर्नका लागि कूटनीतिक र सैन्य संयन्त्रमार्फत् संवाद भइरहेको छ ।’

उनले गलवान भ्यालीमा भएको हिंसात्मक झडपमा चीन जिम्मवार नभएको बताएका छन् ।

उनले भने, ‘गलवान भ्यालीमा भएको तनावमा सही र गलत स्पष्ट देखिन्छ । यो घटना एलएसीको चीनको क्षेत्रभित्र भएको छ । यसका लागि चीनलाई जिम्मावार मान्‍न सकिँदैन ।’

गलवान भ्यालीको सम्प्रभुता सधैं चीनसँग रहनेसमेत प्रवक्ता लिजियानले बताएका छन् । उनले भने, ‘भारतीय सैनिकले बोर्डर पोर्टोकल र दुवै मुलुकको कमान्डरस्तरको संवादमा भएको सहमतिको समेत उल्लंघन गरेका छन् ।’

उनले थपे, ‘उक्त झडपमा सही र गलत बारे सबै प्रस्ट छ । त्यो घटना चिनियाँ क्षेत्रमा रहेको लाइन अफ एकच्युल कन्ट्रोलमा भएको हो । त्यसमा चीनलाई आरोप लगाउन पाइदैन ।’

उनले भारतलाई आफ्नो सेनालाई सीमा क्षेत्रमा निर्धारित क्षेत्रमा राख्न आग्रह समेत गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार भारतीय सेना गालवन क्षेत्रको चिनियाँ भूमिमा प्रवेश गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।

सोमबार राति गलवान भ्यालीमा भएको झडपमा २० भारतीय सेनाको मृत्यु भएको छ । चीनतर्फ ४० भन्दा बढीको मृत्यु भएको भारतीय सञ्‍चारमाध्यमले जनाएको छ । यसबारे चीनले केही पनि बोलेको छैन् ।