सर्लाही– प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बदलिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरु पूरा गर्न निर्देशन दिएका छन् । उनले प्रहरी कर्मचारीहरुले आफूलाई नमूनाको रुपमा प्रस्तुत गरी काम गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवनको उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएको भन्दै प्रहरीको हरेक कामकारवाही बिभेद रहित हुनुपर्ने बताए ।
प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला बिभिन्न निकायसंग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रुपमा व्यवहार गर्दै काम गर्न निर्देशन समेत दिए ।
आवश्यक जनशक्ति तथा साधन श्रोतको कमिको वावजुद पनि उपलब्ध साधन श्रोतलाई अधिकतम प्रयोग गरी तोकिएको जिम्मेवारी पूरा गरेरै छाड्नुपर्ने उनको भनाई थियो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड(१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर निर्वाह गरेको भूमिकाको चर्चा गर्दै त्यस्तो परिस्थितिमा सुरक्षात्मक व्यवस्था अपनाई अझै संवेदनशील भएर नागरिकप्रति प्रदान गर्ने सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया