नवलपरासी – प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) को नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् । प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुको साथै भवन निर्माण कार्यमा सहयोग गर्ने व्यक्ति तथा प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान समेत गरे ।
प्रहरी महानिरीक्षक ज्ञवालीले भौतिक संरचनाहरु जनमुखी, पारदर्शी तथा व्यावसायिक प्रहरी सेवा सम्पादनका लागि सहयोगी हुने चर्चा गर्दै निर्माण सम्पन्न सुविधायुक्त भवनहरुबाट प्रहरी कर्मचारी तथा सेवाग्राही नागरिकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विचार व्यक्त गरे ।
आईजीपी ज्ञवालीले सकारात्मक सोच, निष्पक्ष व्यवहार, आचरणयुक्त तथा प्रविधियुक्त प्रहरी कर्मचारीबाट मात्रै संगठनको उद्देश्य पुरा हुने उल्लेख गर्दै प्रत्येक प्रहरी कर्मचारीहरुले देश तथा नागरिकप्रति समर्पित भई विकृति विसंगति विरुद्ध जनचेतना फैलाउनुपर्ने बताए । स्थानीय तह तथा नागरिकसँग हातेमालो गरी परस्पर सम्बन्ध स्थापित गर्दै शान्त तथा सु–संस्कृत समाज निर्माणको अभियानमा कटिबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको उनले चर्चा गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समारोहमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश अन्तर्गत शान्ति सुरक्षाको अवस्थालाई चुस्तदुरुस्त राख्न कुनै कसर बाँकी नराख्ने बताए । कोरोना महामारीको विषम परिस्थितिबाट थप क्षति हुन नदिन सम्बन्धित सरोकारवाला निकायहरुसँग समन्वय गरेर
अगाडि बढिरहेको उनले जानकारी दिए ।
प्रहरी संगठनलाई भौतिक संरचनाहरुमा आत्मनिर्भर बनाई सरल तथा जनपेक्षित प्रहरी सेवा प्रदान गर्ने आधार स्तम्भहरु निर्माण गर्न प्रहरी संगठनको नियमित बजेट १ करोड ९१ लाख १६ हजार ८ सय ८७ रुपैयाँको लागतमा उक्त ब्यारेक भवन तथा डिएफआईडीको सहयोगमा संचालित एमआइपी प्रोजेक्ट अन्तर्गत युएनओपिएसको आर्थिक सहयोगमा उक्त कार्यालय भवन निर्माण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता–पूर्व) का प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त समारोहमा युएनओपिएसका निर्देशक ईन्द्र न्यौपानेले कार्यालय भवन निर्माण सम्बन्धी प्रतिवेदन तथा प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहले ब्यारेक भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, कावासोती नगरपालिकाका प्रमुख चन्द्रा कुमारी पुन, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी कार्यालयका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया