काठमाण्डु – ‘इनफ इज इनफ’ का अभियन्ता ईः ले आज अनशन तोडेका छन् । कोरोना महामारी नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै २३ दिनदेखि अनशनरत अभियन्ताले अनशन तोडेका हुन् ।
स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौता भएपछि २३ दिनका दिन उनले अनशन तोडेका हुन् । सम्झौताका लागि स्वास्थ्य मन्त्रायलका प्रतिनिधि आइतबार बिहान ईः उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमै पुगेको अभियन्ताले जानकारी दिएका छन् ।
‘कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्ने लिखित सम्झौतापछि सरकार र ईः बीच दोस्रोपटक सहमति भएको’, विवेकशील पार्टीका मिलन पाण्डेले आइतबार बिहानै ट्विट गरेर जानकारी दिएका छन्, ‘अब फेरि यही मुद्दामा कोही अनशन बस्न नपरोस् । अँध्यारो रातमा आशाको किरण बनेकामा धन्यवाद ईः सम्पूर्ण युवा साथीहरूलाई धन्यवाद । अबको युग युवा हो ।’
इनफ इज इनफले युवाहरुको स्वतःस्फूर्त अभियानको उपलब्धीस्वरुप पीसीआर परीक्षणको संख्या र दायरा वृद्धि भएको, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले तयार गरेको निर्देशिका तथा कार्यविधिहरुको कार्यान्वयन, प्रचारप्रसार गर्ने गराउने काममा सकारात्मक पहल भएको बताएको छ ।




प्रतिक्रिया