भारतलाई नेपालको जवाफः बुद्धको जन्मबारे अन्तर्राष्ट्रिय समुदाय जानकार छ !


काठमाण्डु – सरकारले गौतमबुद्धको जन्मस्थानबारे बहस आवश्यक नभएको बताएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्ध भारतीय भएको बताएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ ।

आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुद्धको जन्मस्थानबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको छ ।

‘यो सत्य हो कि बौद्ध धर्म नेपालपछि संसारको अन्य भागहरुमा फैलिएको हो । गौतम बुद्धको जन्मस्थानको विषयमा शंकारहीत र निर्विवादित छ, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे जानकार छ’, मन्त्रालयले भनेको छ ।

परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्ध नेपालमा जन्मिएको कुरा उल्लेख गरेको बताएको छ ।

‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भन्‍नुभएको थयो कि ‘नेपाल एक त्यस्तो देश हो, जहाँ विश्वमा शान्ति फैलाउने बुद्धको जन्म भएको थियो’, मन्त्रालयले भनेको छ, ‘यो ऐतिहासिक र पुरातात्विक तथ्यहरुले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो । लुम्बिनी बुद्धको जन्मस्थल, बौद्ध धर्मको सुरुआत भएको थलो र युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत स्थलहरु मध्ये एक हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement