काठमाण्डु – एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अगाडि रहँदै आएको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक रहेको देखिएको छ ।
विश्व महामारी कोरोना भाइरस संक्रमणको कारण सृर्जित असहज परिस्थिति, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि बैंकले गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ३२.१२ रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरूमध्ये यस बैंकले ३ प्रतिशत (९.८ करोड) को वृद्धिसहित ३ अर्ब १२ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आ.व. २०७५/७६ को सोही अवधिमा खुद मुनाफा ३ अर्ब २ करोड रहेको थियो । बैंकको स्वपुँजीमा प्रतिफल १९.४१ प्रतिशत रहेको छ र जुन समग्र वाणिज्य बैंकहरूमध्येकै सबैभन्दा बढी रहेको बैंकले अनुमान गरेको छ ।
बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमासिकसम्ममा कर्जातर्फ २३ अर्बले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब पुगेको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.५९ प्रतिशत हो ।
समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा ११.७० प्रतिशत (करिब ३०३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजनपश्चात)ले कर्जा वृद्धि भएकोमा यस बैंकले १६ प्रतिशत (२३ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिमध्ये सबैभन्दा उच्च वृद्धि हो ।
साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमासिकसम्ममा ३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ११ अर्ब पुर्याउन बैंक सफल भएको छ । जुन वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.९६ प्रतिशत रहेको छ ।
साथै समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६.५ प्रतिशत (करिब ४ खर्ब ७७ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजनपश्चात)ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा यस बैंकले २२.५० प्रतिशत (३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्वन गर्दै आएको छ ।
सोही रणनीति अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६.०८ प्रतिशत कर्जा यस्ता साना रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्वन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।
गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेपतर्फ २२.१२ अर्बले वृद्धि गरी उक्त निक्षेप मिश्रणको प्रतिशत ४५.१७ पुर्याउन सफल भएको छ जुन समग्र वाणिज्य बैंकहरूको औसत करिब ४२ प्रतिशतको तुलनामा ३.१७ प्रतिशत विन्दुले बढी हो । बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको छ ।
परिणाम स्वरूप प्रमुख १० निक्षेककर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केबल १० प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । त्यस्तैगरी बैंकको कल निक्षेपको अंश हाल कुल निक्षेपको ९.६ प्रतिशत कायम गर्न सफल भएको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो ।
यस बैंकको आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहक संख्यामा विस्तार गर्ने र डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो ।
गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङ्गतर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । यस बैंकले आव २०७६/७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशतसहित कुल ८ लाख ६६ हजार पु¥याउन सफल भएको छ ।
साथै मोबाइल बैंकिङ्गमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पु¥याउन सफल भएको छ । त्यसैगरी इन्टरनेट बैंकिङ्गतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशतसहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पुर्याउन बैंक सफल भएको छ । साथै बैंकले १५ हजारभन्दा बढी क्युआर मर्चेन्ट र करिब ४ हजार पीओएस मर्चेन्टमार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा २०७७ को वैशाख र जेष्ठ महिनासम्ममा तिर्नुपर्ने ब्याज सम्बन्धित मसान्तभित्र चुक्ता भुक्तान गर्नुभएमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको सर्वविदितै छ ।
त्यतिमात्रै होइन २०७७ आषाढ महिनामा समेत नेपाल राष्ट्र बैंकद्वारा व्यवस्था गरिएको उक्त २ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिनुभएका सम्पूर्ण ग्राहकहरूले सोही मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएकोमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको तत्कालिन ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गरिएको छ ।
यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान हुँदै आएको छ ।




प्रतिक्रिया