वैदेशिक रोजगार विभागको काम स्थगन

वैदेशिक रोजगार विभागको काम स्थगन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो ।

विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र नवीकरणको निवेदन र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका इजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ ।

राहत, उद्धार र अनुसन्धान तथा मुद्दासँग सम्बन्धित उजुरी विभागको इमेलमार्फत मात्र लिने, उद्धार राहत सेवा लिन विभाग पुग्नैपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने, विभागले प्रदान गर्ने सेवासम्बन्धी जानकारी लिन विभागको टेलिफोन प्रयोग गर्न पनि आग्रह गरेको छ ।

संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवामध्ये संस्था नवीकरणसम्बन्धी कार्य र वार्षिक प्रगति विवरण बुझ्ने कार्य मात्र गरिने विभागले जनाएको छ । नवीकरण भएको इजाजतपत्र भने अर्को सूचना जारी भएपछि मात्र वितरण गरिनेछ । यस्तै जुनसुकै सेवासम्बन्धी सोधपुछ तथा ताकेता इमेल तथा टेलिफोनमार्फत मात्र गर्न सकिने विभागले जनाएको छ ।

यसैबीच वैदेशिक रोजगार बोर्डको सचिवालयले बोर्डबाट प्रदान गर्ने आर्थिक सहायता १५ दिनका लागि स्थगित गर्ने जनाएको छ । सरकारले देशका ७७ वटै जिल्ला प्रशासनबाट जारी हुने सवारी पास रद्द गर्ने निर्णय गरेसँगै बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता बापतको रकम पनि यही साउन ३२ गतेदेखि भदौँ १५ गतेसम्म स्थगत गर्ने जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीले गत वर्षदेखि नै स्थानीय निकायमार्फत आर्थिक सहायता लिन सक्न व्यवस्था गरे पनि अधिकांश आर्थिक सहायताका लागि बोर्डमा नै आउने गरेका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।