काठमाण्डु आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियाे

काठमाण्डु आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाण्डु आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाण्डु उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो ।

काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाण्डु उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए ।

‘पुराना पास लिएर आउने र अन्य कुनै काम देखाएर बहानाबाजी गरेर आउने क्रम अझै पनि जारी छ । अब कुनै पनि बहानामा उपत्यका प्रवेश सहज छैन । पुराना पास लिएर आउँदा पनि फर्कनुपर्छ, फर्काइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले राजधानीसँग भने ।

तर बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए ।

यसैगरी, चार्टर उडानमार्फत विदेश जान हिँडेकाहरूलाई समेत कागजात हेरेर पठाइने गरिएको छ । बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार अत्यावश्यकबाहेकका सवारी साधनलाई प्रवेशको सुरु बिन्दुमा नै रोकिएको छ ।

आवश्यकता पुष्टि नभई आउनेहरूलाई भने सुरक्षाकर्मीले धमाधम फर्काइरहेका छन् । यस्तै, अत्यावश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीमा पनि स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको हेर्ने गरिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।