उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् । सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो ।

सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार गरेको निर्णयले सोमबारै संयु्क्त अरब इमिरेट्स (यूएई) बाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्कियो ।

कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौँ नेपाली स्वदेश फर्कन पाएका छैनन् । उनीहरूले सरकारको पछिल्लो निर्णयबाट विदेशमा अलपत्र श्रमिक थप पीडामा भएको भन्दै विरोध गरिरहेका छन् ।

सरकारले आइतबारदेखि पाँचौँ चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको थियो तर निर्णय सार्वजनिक भएको दुई दिनमै रद्द भयो । पाँचौँ पटक थप ४३ वटा उडानलाई अनुमति दिइएको थियो ।

यी उडानबाट झण्डै सात हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो । सोमबार साँझ विदेशबाट ल्याएर राख्न क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासि तय भएका उडान रद्द गरेको हो । सीसीएमसीले उडान रद्द गरेका विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।