निषेधाज्ञा प्रभावकारी बनाउन उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन

निषेधाज्ञा प्रभावकारी बनाउन उपत्यकाका सडकमा ५ हजार सुरक्षाकर्मी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन उपत्यकाका सडकमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ ।

काठमाण्डु,भक्तपुर र ललितपुरका तीनै जिल्लामा गरी निषेधाज्ञामा कडाइ गर्न भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ५ हजार सुरक्षाकर्मी खटाइएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता सुशीलकुमार यादवले नियमित ड्युटीबाहेक उपत्यकाका सडकमा नेपाल प्रहरी तर्फबाट मात्रै ३ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । यसैगरी, सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार तीनै जिल्लामा गरी सशस्त्र प्रहरीका १ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता यदवका अनुसार बिहीबार काठमाडौंका सडकमा निषेधाज्ञा उल्लंघन गर्दै हिँडेका ५ सय ८१ जनालाई होल्ड गराइएको छ । यसैगरी, ललितपुरमा १ हजार २ सय १० जनालाई होल्ड गराइएको छ भने भक्तपुरमा ५ सय ३५ जनालाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै सडकमा होल्ड गराइएको छ । यसरी होल्ड गराइएका सबैलाई साँझसम्म सचेत गराएर छाडिएको यादवले जानकारी दिए ।

ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लंघन गर्दै चलाइएका २ हजार ९ सय २ सवारी साधनलाई बिहीबार सडकमै होल्ड गराएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी बामदेव गौतमका अनुसार बिहीबार उपत्यकाका तीनै जिल्लाबाट गरी २ हजार २ सय ९४ वटा दुईपांग्रे तथा ६ सय ८ वटा चारपांग्रे गरी २ हजार ९ सय २ सवारी साधनलाई होल्ड गराइएको र साँझ छाडिएको हो ।

बिहीबार होल्डमा पर्नेमा सरकारी कर्मचारी र बैंकका कर्मचारीसमेत थिए । उनीहरूलाई शुक्रबारबाट भने कार्यरत कार्यालयद्वारा जारी गरिएका परिचयपत्रका आधारमा सवारी चलाउन दिइनेछ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।