एनपीएलमा पहिलोपटक डीआरएस : एलबीडब्लूसहित रनआउट र नो बल पनि पुनरावलोकन गर्न सकिने

एनपीएलमा पहिलोपटक डीआरएस : एलबीडब्लूसहित रनआउट र नो बल पनि पुनरावलोकन गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग हुने भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार प्रतियोगितामा डीआरएस लागू गरिने जानकारी दिएको हो।

डीआरएसले अम्पायरको निर्णयमा चित्त नबुझे खेलाडीलाई त्यसको पुनरावलोकन माग्ने अवसर दिन्छ। त्यसपछि तेस्रो अम्पायरले भिडियो र प्रविधिबाट उपलब्ध प्रमाण हेरेर निर्णय सही थियो कि थिएन भनेर जाँच गर्छन्।

क्यानका अनुसार, एलबीडब्लूको निर्णय जाँच्न फूल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। यसले बलको गति र दिशा विश्लेषण गरी प्याडमा लागेपछि बल स्टम्पमा लाग्ने सम्भावना थियो कि थिएन भन्ने देखाउँछ।

रनआउट र स्टम्पिङका निर्णयमा क्यामेराको दृश्यबाट ब्याट्सम्यान वा खेलाडी क्रिजभित्र थिए कि बाहिर भन्ने जाँच गरिनेछ। नो बलको पुनरावलोकन पनि गर्न सकिने व्यवस्था हुनेछ।

बल ब्याटमा लागेको हो कि होइन भन्ने पत्ता लगाउन एआईको सहायतासहितको एज डिटेक्सन प्रविधि प्रयोग गरिने क्यानले जनाएको छ। यसले भिडियो र अडियो संकेत विश्लेषण गरेर बलले ब्याट छोएको सम्भावना देखाउन सक्छ।

त्यस्तै, बलको उचाइका आधारमा वाइडको निर्णय जाँच्ने सुविधा पनि हुनेछ। प्रतियोगितामा छक्काको दूरी र उचाइ तथा बलिङसम्बन्धी विश्लेषणात्मक तथ्यांकसमेत उपलब्ध गराइनेछ।

डीआरएसले अम्पायरलाई निर्णय जाँच्न थप प्रमाण र प्रविधिको सहायता दिन्छ। बल ट्र्याकिङ, एज डिटेक्सन र क्यामेराबाट प्राप्त जानकारीका आधारमा अन्तिम निर्णय भने खेलका नियमअनुसार अम्पायरले नै गर्छन्।

एनपीएलमा प्रयोग हुने मुख्य प्रविधि :

  • बल ट्र्याकिङ: क्यामेराले बलको गति र दिशा पछ्याएर बल प्याडमा लागेपछि स्टम्पमा लाग्थ्यो कि लाग्दैनथ्यो भन्ने अनुमान गर्छ। यसले एलबीडब्लू निर्णय जाँच्न मद्दत गर्छ।
  • एज डिटेक्सन: बलले ब्याट छोयो कि छोएन भनेर अडियो र भिडियो विश्लेषण गरिन्छ। एआईले संकेत पहिचान गर्न सघाउन सक्छ; अन्तिम निर्णय भने अम्पायरले उपलब्ध प्रमाणका आधारमा गर्छन्।
  • रनआउट र स्टम्पिङ रिभ्यू: क्यामेराका विभिन्न कोणबाट ब्याट वा खेलाडीको शरीर क्रिजभित्र थियो कि थिएन भनेर जाँचिन्छ।
  • नो बल जाँच: विशेष क्यामेराले बल फाल्ने क्रममा बलरको अगाडिको खुट्टा क्रिजभन्दा बाहिर परेको थियो कि थिएन भनेर हेर्छ।
  • वाइड बलको उचाइ जाँच: बल ब्याट्सम्यानको शरीरको तुलनामा कति माथिबाट गयो भन्ने मापन गरेर वाइडको निर्णय जाँच्न सकिन्छ।
  • बलको दूरी र उचाइ मापन: छक्का कति टाढा गयो र कति उचाइमा पुग्यो भन्ने तथ्यांक देखाउँछ। यो मुख्यतः खेल विश्लेषण र दर्शकका लागि हो, निर्णय पुनरावलोकनका लागि होइन।

यी प्रविधिले अम्पायरलाई उपलब्ध दृश्य र तथ्यांक थप्छन्। तर यस प्रणालीको शुद्धता क्यामेराको गुणस्तर, मैदानको सेटअप र प्रतियोगिताको नियममा निर्भर हुने गरेको छ।