काठमाण्डु – नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा आज एक कार्यक्रमकाबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाली दूतावास भएको देशमा आफ्नै भवन बनाउने सरकारको नीति अनुरुप मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो चरणका काम सम्पन्न भएको छ ।
ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने दूतावासले जनाएको छ ।
कार्यक्रममा मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए । उनले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा राजदूतलाई बधाई दिंदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाए ।
भेटमा उनीहरुले नेपाल–ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा साटासाट गरेका थिए ।




प्रतिक्रिया